नेपाल सुपर लिग भलिबल प्रतियोगिता आगामी चैतमा हुने

भूगाेल संवाददाता
१९ माघ २०७९, बिहीबार १४:४८

 

काठमाडौं । फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल सुपर लिग आगामी चैतमा गर्ने तयारी भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत (सिईओ)ले प्रतियोगिता चैतको अन्तिम साता हुने बताएका छन् ।

 

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नेपाल भलिबल संघबीच २०७८ भदौं २२ मा १० वर्षका लागि भएको सम्झौतामा नेपाल सुपर लिग महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको थियो ।

 

त्यतिबेला सम्झौतापत्रमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेता कार्की चौधरी र नेपाल भलिबल संघकी तत्कालिन उपाध्यक्ष निरोज मास्केले हस्ताक्षर गरेका थिए । तर अहिलेसम्म प्रतियोगिताको पहिलो संस्करण हुन सकेको छैन ।

 

लिगमा सात महिला र सात पुरुष टिमले प्रतिस्पर्धा गर्ने जनाइएको थियो । नेपाल भलिबल संघले गत २०७९ कात्तिकमा सार्वजनिक गरेको बार्षिक क्यालेन्डरमा नेपाल सुपर लिग फागुनमा गर्ने भनिएको थियो । तर, प्रतियोगिता फागुनमा नहुने निश्चित भएको छ ।

 

नेपाल सुपर लिगले बिहीबार सामाजिक सञ्जालमा एक तस्बिर राखेर चाडै प्रतियोगिता हुने भन्दै फ्रेन्चाइज टिम लिनका लागि आह्वान गरेको छ ।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले चैतमै प्रतियोगिता हुने बताए ।