साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्दै

भूगाेल संवाददाता
२४ माघ २०७९, मंगलवार ११:३०

बङ्लादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतीय टोलीसँग प्रतिस्पर्धा गर्दैैछ । राउण्ड रोबिन लिग अन्तर्गत यो नेपालको अन्तिम खेल हो । फाइनलमा पुग्नको लागि नेपालले यो खेल जित्नैपर्छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपाल पहिलो खेलमा बङ्लादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो । भारतसँग पराजित भएमा नेपाल उपाधि होडबाट बाहिरिनेछ । बराबरी खेलेमा बङ्लादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ । भारत ४ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

आज बराबरी खेले पनि भारत फाइनल पुग्नेछ । ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बङ्लादेश खेल्नेछन् । बङ्लादेश ४ अङ्क जोडेर दोस्रो स्थानमा छ ।

भुटान दुई खेलमा अङ्कविहीन रहँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बङ्लादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।