साफ यू-२० महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा
नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् ।
भारतकी अपूर्ण नार्जारीले गोल गरिन् ।
नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको हो । खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, खेलको दोस्रो हाफमा नेपाल खेलमा फर्कियो ।
खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याईन् । खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २(१ को अग्रता दिलाईन् ।
त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाईन् । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ ।