‘ए’ डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

भूगाेल संवाददाता
२६ माघ २०७९, बिहीबार १५:१८

काठमाण्डौ – शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका धेरैजसो खेलाडी विदेश पलायन भएसँगै ‘ए’ डिभिजन लिगका क्लबहरूले खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो ।

‘ए’ डिभिजनका धेरैजसो क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए । खेलाडी थप गर्ने मागलगायत शहीद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन सम्बन्धमा हिजो बुधवार बसेको बैठकले खेलाडीको कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिनुभयाे । उहाँले अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लबहरूले कोटा थप्न माग गरेअनुसार अब क्लबले पाँच जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने बताउनुभयो । उहाँले टिममा एक जना एसियाली र एक जना दक्षिण एसियाका खेलाडी अनिवार्य गरिएको पनि बताउनुभयो । उहाँले एक खेलमा चार जना विदेशी खेलाडी खेल्न पाउने प्रावधान ल्याएको बताउनुभयो ।

राष्ट्रिय टिमका धेरैजसो खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै क्लबहरूले सामूहिकरूपमा विदेशी खेलाडीको कोटा बढाउन ‘ए’ डिभिजनका ११ वटा क्लबले आफ्नो मागसहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए । पछिल्लो समय राष्ट्रिय फुटबल टिमका धेरैजसो खेलाडी अस्ट्रेलिया पुगेका छन् । तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्यासमेत बढ्ने क्लबको चिन्ता छ । त्यही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने भन्दै क्लबहरूले विदेशी खेलाडीको कोटा बढाउन माग गरेका थिए ।