नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा जान डी

भूगाेल संवाददाता
१ फाल्गुन २०७९, सोमबार १४:२०

बेल्जियमका जान जोसे डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाल भलिबल संघका महसचिव रोशन श्रेष्ठले बेल्जियमका प्रशिक्षक जान डीलाई राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिनुभयो ।

बेल्जियम प्रशिक्षक जान डीलाई ६ महिनाको लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । उनले नेपालको महिला र पुरुष दुबै टोली हेर्ने छन् ।

महासचिव श्रेष्ठले प्रशिक्षक जान डी आगामी मार्च पहिलो हप्ता नेपाल आईपुग्ने जानकारी दिनुभयो । उहाँ अगस्टसम्म नेपालमा रहने छन् ।

अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) को सहयोगमा जान डी नेपाल आउन लागेका हुन् ।

६४ वर्षीय प्रशिक्षक जान डी निकै अनुभवी प्रशिक्षक हुन् । बेल्जियमका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका जान डीले बेल्जियम र हंगेरीको राष्ट्रिय महिला टिम हेरिसकेका छन् ।

महासचिव श्रेष्ठका अनुसार एसियन गेम्सको ४५ दिन अघि नेपाली टोलीलाई प्रशिक्षण दिन डच प्रशिक्षक एबिङ नेपाल आउने छन् ।

चीनमा आयोजना हुने एसियन गेम्समा नेपालको महिला र पुरुष भलिबल टोलीले सहभागिता जनाउदैछ ।