भान लिगेनको शतकमा नामिबियाले दियो नेपाललाई २८६ रनको लक्ष्य

भूगाेल संवाददाता
२ फाल्गुन २०७९, मंगलवार १३:११

काठमाडौं । माइकल भान लिगेनले शतकप्रेरित नामिबियाले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालसामु २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका लिगेनले शतक बनाएका हुन् ।

 

त्यससँगै टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८५ रन बनायो । लिगेनले १३७ बलमा नौ चौका र पाँच छक्कासहित १३३ रन बनाए । अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक प्रहार गरेका लिगेनको यो नै अहिलेसम्मको व्यक्तिगत उच्च स्कोर पनि हो ।

 

कप्तान जेरार्ड इरास्मसले ५६ रन बनाए । लिगेनले तेस्रो विकेटका लागि कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गरेका थिए । यसबाहेक, जन ग्रीनले ३४, कार्ल बिर्केनस्टोक र जान फ्राइलिंकले समान १३ रन जोड्दा रुबेन ट्रम्पेलम्यानले ११ रन थपे ।

 

नेपालका करण केसीले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ६१ रन खर्चिए ।

 

६ महिनापछि राष्ट्रिय टिममा ‘कमब्याक’ गरेका सन्दीप लामिछानेले तीन विकेट लिए । कुशल मल्ल र सोमपाल कामीले समान एक विकेट लिए ।

शृंखलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् ।