रोहित पौडेल बने एक हजार रन पूरा गर्ने नेपालको पहिलो ब्याटर

भूगाेल संवाददाता
२ फाल्गुन २०७९, मंगलवार १५:३८

 

काठमाडौं । रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याटर बनेका छन् । विश्वकप लिग २ मा नामिबियाविरुद्धको खेलमा ५५ रन बनाएसँगै उनले यो उपब्लधि हात पारेका हुन् ।

उनले ३३ औं खेल खेल्दै एक हजार रन बनाएका हुन् । रोहितले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एमस्टलभिनमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । तर त्यसपछि खराब फर्मका कारण टिमबाट बाहिर थिए ।

२०२१ को सेप्टेम्बरमा ओमान भ्रमणबाट उत्कृष्ट पुनगरामगन गरेपछि उनी प्रदर्शनकै आधारमा नेपालको कप्तान बनेका थिए । उनले ६ अर्धशतक र एक शतक बनाइसकेका छन् । एउटा अर्धशतक बाहेक अरु सबै ठूलो इनिङ्स उनले पुनरागमनपछि गरेका हुन् ।

रोहित र ज्ञानेन्द्र मल्लले नेपालबाट सर्वाधिक ६ अर्धशतक बनाएका छन् । रोहित पछि नेपालबाट सर्वाधिक रन बनाउनेमा ज्ञानेन्द्र छन् । ज्ञानेन्द्रले २७ खेलमा ७ सय ३४ रन बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा मंगलबार रोहित केही भाग्यमानी पनि रहे । उनले २७ र ३९ रनमा गरि दुई जिवनदान पनि पाए ।

गत वर्षको केन्या भ्रमण यता रोहित नेपालका कप्तान छन् ।