यूएईविरुद्धको तेस्रो ट्वान्टी–२० खेलमा अफगानिस्तानले तीन खेलको श्रंखला जित्यो
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा ६ विकेटको जित निकाल्दै अफगानिस्तानले तीन खेलको शृंखला २–१ ले जितेको छ ।
जयेद क्रिकेट रंगशालामा भएको खेलमा यूएईले प्रस्तुत गरेको १६४ रनको लक्ष्य अफगानिस्तानले १९।१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
अफगानिस्तानको जितमा आक्रामक रूपमा प्रस्तुत भएका करिम जन्नतले २२ बलमा चार चौका र पाँच छक्कासहित अविजित ५६ रन बनाए । इब्राहिम जद्रानले ५१ बलमा पाँच चौका र एक छक्कासहित ६० रन जोडे । ओपनर रहमनुल्लाह गुर्बजले २०, अफ्सर जजाइले १३ रन बनाए ।
यूएईका जहुर खानले दुई विकेट लिँदा अकिफ राजा र जवर फरिदले एक/एक विकेट लिए ।
यसअघि, टस हारेपछि ब्याटिङमा निम्त्याइएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । यूएईका ओपनरद्वय मुहम्मद वसिम र भ्रित्या अर्विन्दले क्रमशः ७५ र ५९ रन बनाएका थिए । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अफगानिस्तानका राशिद खान र गुल्बदिन नैबले समान दुई विकेट लिँदा नवीन उल–हकले एक विकेट झारे ।
शृंखलाअन्तर्गत पहिलो खेलमा अफगानिस्तान पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा यूएईले नौ विकेटले खेल आफ्नो पक्षमा परेको थियो ।