आईसीसी क्रिकेट विश्वकप लिग–२ : स्कटल्यान्डद्धारा नामिबियासामु २ सय २२ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डले नामिबियासामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन बनायो ।
स्कटल्यान्डका क्रिस्टोफर म्याकब्रिडले ४७ रनको योगदान गरे । टोमस म्याकिन्टोसले ३४, कप्तान रिची बेरिङ्टनले ३२, माइकल लियस्कले २९, लियन लायलोरले २० र म्याथ्यु क्रसले १६ रन बनाए ।
नामिबियाबाट कसिलो बलिङ गरेका रुबेन ट्रम्पेलमनले पाँच विकेट लिए । ९.४ ओभर बलिङ गरेका ट्रम्पेलमनले ३० रन खर्चिए । टांगेनी लुंगामेनीले दुई विकेट लिँदा बर्नार्ड स्कल्ज, बेन सिकोंगो र पिकी या फ्रान्सले एकरएक विकेट झारे ।
शृंखलामा नामिबियाको यो अन्तिम खेल हो । नामिबियाले पहिलो खेलमा नेपालसँग दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्डसँग १० विकेट र तेस्रो खेलमा नेपालसँग पुनः तीन विकेटको हार व्यहोरेको थियो ।
स्कटल्यान्डले शृंखलाअन्तर्गत नेपालसँग अन्तिम खेल खेल्न बाँकी नै छ । स्कटल्यान्डले शृंखलाको पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियोे । दोस्रो खेलमा नेपालसँग तीन विकेटले पराजित भएको थियो । स्कटल्यान्डले भोलि नेपालसँग खेल्नेछ ।