नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आजदेखि सुर्खेतमा सुरु हुँदै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु हुँदैछ ।
क्यानले पहिलो पटक कर्णाली प्रदेशमा साधारण सभा गर्न लागेको हो । आज आइतबार र सोमबार दुई दिनसम्म चल्ने साधारण सभामा वार्षिक कार्यक्रमका साथै बजेटदेखि विवादित नेपाल टी–२० लिगको विषयमा छलफल हुनेछ ।
गत पुसमा काठमाडौंमा भएको पहिलो संस्करणको नेपाल टी(२० लिगमा विभिन्न विवादेखि स्पट फिक्सिङसम्म भएपछि क्यानको चर्को आलोचना भएको थियो ।
पहिलो संस्करणमै निकै विवाद बनेपछि नेपाल टी(२० लिग अब कसरी अगाडि बढाउने भन्ने विषयमा साधारण सभामै छलफल गर्ने निर्णय गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।
यस्तै व्यावसायिक तथा रणनीतिक साझेदारको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौताको विषयमा पनि छलफल हुनेछ ।
लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सले यसअघि नै एकपक्षिय रुपमा सम्झौता रद्द गरिएको जानकारी क्यानसहित राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको थियो । तर क्यानले अझै सेभेन थ्रीबाट लाइसेन्स फि को रकम देखि पुरस्कार रकम पाउन बाँकी नै रहेकोले यस विषयमा साधारण सभाबाटै निर्णय गर्ने जनाएको छ ।