आईसीसी महिला ट्वान्टी–२० विश्वकप : फाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै

भूगाेल संवाददाता
१४ फाल्गुन २०७९, आईतवार १२:३८

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको फाइनलमा आज घरेलु टिम दक्षिण अफ्रिका र साविक विजेता अस्ट्रेलिया उपाधिका लागि भिड्दैछन् । घरेलु टिम दक्षिण अफ्रिका पहिलो उपाधिको खोजीमा हुँदा अस्ट्रेलिया भने उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा हुनेछ ।

दक्षिण अफ्रिकाको केप टाउनमा हुने फाइनल नेपाली समयानुसार साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाले सेमिफाइनलमा साविक उपविजेतासमेत रहेको भारतलाई पाँच रनले र दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ६ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।

अस्ट्रेलिया र दक्षिण अफ्रिका समूह–१ बाट क्रमशः विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए । यसअघि भएको समूह चरणको खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

विश्वकपको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले पाँच पटक उपाधि जितिसकेको छ । सन् २००९ देखि सुरु भएको प्रतियोगिताको सात संस्करणमध्ये पाँचको उपाधि अस्ट्रेलियाले आफ्नो नाममा लेखाएको छ । अस्ट्रेलियाले यसअघि सन् २०१०, २०१२ र २०१४ को उपाधि जित्दै ह्याट्रिक गरेको थियो । सन् २०१६ को संस्करणमा पनि फाइनल प्रवेश गरेको अस्ट्रेलिया त्यसबेला भने वेस्ट इन्डिजसँग आठ विकेटले पराजित भएको थियो ।

दक्षिण अफ्रिका भने पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०१४ र २०२० मा सेमिफाइनल प्रवेश गर्नु नै विश्वकपमा दक्षिण अफ्रिकाको अहिलेसम्मको उत्कृष्ट नतिजा थियो ।