महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने

भूगाेल संवाददाता
१४ फाल्गुन २०७९, आईतवार १२:४३

सन् २०२४ मा हुने पेरिस ओलम्पिक खेलकुदका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह सी को छनोट नेपालमा आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जानकारी दिएको हो ।

समूह सी मा नेपालसँगै प्यालेस्टाइन, भियतनाम र अफगानिस्तान रहेका छन् । तर, प्यालेस्टाइनले नाम फिर्ता लिएपछि समूहमा अब तीन टिम मात्र रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ ।