सन्दिप लामिछानेको निवेदन उपर सुनुवाई सकियो, आजै आदेश जारी गर्ने तयारी

भूगाेल संवाददाता
१५ फाल्गुन २०७९, सोमबार १६:२५

काठमाडौं । क्रिकेटर  सन्दीप लामिछानेका निवेदनमा सुनुवाई सकिएको छ।

सुनुवाई सकिएसँगै न्यायाधीशहरु आदेश आजै जारी गर्ने तयारीमा रहेको लामिछानेका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले जानकारी दिएका छन् ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका हुन् ।

लामिछानेको तर्फबाट  सर्वोच्च अदालतमा आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न यूएई जान पाउनु पर्ने मागको निवेदन परेको थियो । त्यस्तै सरकारी वकीलको लामिछानेलाई थुनामै राख्नु पर्ने माग गर्दै निवेदन दायर भएको थियो।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग लागेको छ । उक्त मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । जिल्ला अदालतले लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो ।

उच्च अदालत पाटनले भने जिल्लाको आदेश उल्ट्याउँदै पुर्पक्षका लागि लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो । रिहाई पछि सन्दीप काठमाडौंमा आयोजित विभिन्न क्रिकेट खेलमा सहभागी भएका थिए ।

उच्च अदालतले लामिछानेलाई देशबाहिर नजाने शर्तमा धरौटीमा रिहा गरेको थियो ।