केपी ओली क्लबलाई १–० ले हराउँदै मच्छिन्द्र फाइनलमा

भूगाेल संवाददाता
१५ फाल्गुन २०७९, सोमबार १८:४०

सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

ललितपुरको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै सातदोबाटोले फाइनलमा स्थान बनाउँदा अर्को खेलमा मच्छिन्द्रले आयोजक केपी ओली फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रले केपी ओली फुटबल क्लबलाई पराजित गर्ने क्रममा १९ औँ मिनेटमा विमल घर्ती मगरले गरेको गोल नै निर्णायक बनेको हो । विमल ह्यामस्ट्रिङको समस्या भोग्दै निर्धारित ९० मिनेटभन्दा अघि नै मैदानबाट बाहिरिएका थिए ।

यस्तै यसअघि भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित समयमा आर्मी र सातदोबाटोबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । पेनाल्टीमा सातदोबाटो सफल भएको हो । हिजो आइतवार वर्षाले प्रभावित यी दुई टोलीबीचको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ आज सोमवार फेरि खेलाइएको थियो ।

प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागतरूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ ।