त्रिदेशीय क्रिकेट श्रृंखलामा यूएईसँगको खेलमा नेपाल बलिङ गर्दै

भूगाेल संवाददाता
१८ फाल्गुन २०७९, बिहीबार १२:३६

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले अहिले घरेलु टोली यूएईसँग खेलिरहेको छ ।

दुबईमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो । यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो ।

आजको खेलमा नेपालले यूएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।

नेपालले अर्को खेलमा भोलि पपुवा न्यूगिनी र आइतबार यूएईसँग खेल्नेछ ।

अंक तालिकामा यूएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौँ स्थानमा छ ।

नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी ७ मध्य ६ खेल तथा शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउन अब चार खेल जित्नुपर्ने हुन्छ ।