नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य

भूगाेल संवाददाता
१८ फाल्गुन २०७९, बिहीबार १४:२४

आईसीसी यू–१९ विश्वकप एशिया छनोटमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको छ ।

यूएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८ दशमलव ५ ओभरमा १ सय ९१ रन बनाउँदा अल आउट भयो ।

चौथो विकेटका लागि कप्तान देव खनाल र उत्तम रञ्जु थापा मगरले ८४ रनको साझेदार गर्दै नेपालको इनिङ्स उकासेका थिए । देव ५१ रन बनाउँदा क्याच आउट भए भने ८४ बलको सामना गरेका देवले ३ चौका र १ छक्का हाने ।

उत्तमले ४८ बलमा ४ चौका र १ छक्का हान्दै ३६ रनमा पवेलियन फर्के। विशाल विक्रम केसीले ३८ रन थपे । विशालले ५० बलमा ५ चौकाको यागदान दिए । मिलन बोहोरा १० रनमा रन आउट भए । हेमन्त धामी १३ रनमा क्याच आउट भए ।

दुवै ओपनरलाई सुरुवातमै गुमाएको नेपाली टोली दबाबमा आएको थियो । यूएईका धुव परासरले ३ विकेट लिए । आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान २ विकेट लिए । अर्सित सेट र अम्मर बदामीले एक एक विकेट आफ्नो नाममा गरे ।

नेपालले आजको खेलमा यूएईलाई हराए आगामी वर्ष श्रीलंकामा हुने विश्वकप खेल्ने छ ।