लिग–२ मा नेपाल यूएईसँग ६८ रनले पराजित

भूगाेल संवाददाता
१८ फाल्गुन २०७९, बिहीबार १८:२४

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल यूएईसँग ६८ रनले पराजित भएकाे छ ।

यूएईले दिएकाे २ सय ८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ३१ ओभर ५ बलमा १ सय ३९ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कुशल मल्लले ६० रन र सन्दीप लामिछानेले नटआउट २६ रन बनाए पनि अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ यूएईका राेहन मुस्तफा र कार्तिक मय्यपनले ३/३ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनायाे । यूएईका लागि आसिफ खानले ७२ र राेहन मुस्तफाले ५२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले १० ओभरमा २७ रन दिँदै ३ विकेट लिएका हुन् । यस्तै करण केसी, आरिफ शेख र कुशल मल्लले १/१ विकेट लिए ।

यूएईसँग हारेसँगै अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै साेझै विश्व कप खेल्न बाँकी रहेको ६ वटै खेल जित्नुपर्नेछ । अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटाैँ स्थानमा छ ।

याे हारसँगै नेपालले लगातार पाँच खेल जितेर बनाएकाे कीर्तिमानमा पनि ‘ब्रेक’ लागेकाे छ । यसअघि घरेलु मैदानमा भएकाे ४ वटै खेल जितेर यूएई भ्रमण गरेकाे नेपालले त्रिदेशीय शृङ्खलाकाे पहिलाे खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएकाे थियाे ।