सातदाेबाटाेकाे लगातार दाेस्राे जित, हिमालयन शेर्पाले पुलिसलाई हरायाे

भूगाेल संवाददाता
२४ फाल्गुन २०७९, बुधबार १८:४८

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज बुधवार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । सातदोबाटो युथ क्लबले सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई र हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई हराउँदै विजयी भएका हुन् ।

च्यासल मैदानमा भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई एक–शून्य गोल अन्तरले हराउँदै सातदोबाटोले लगातार दोस्रो जित निकालेकाे हाे । सातदोबाटोको जितमा विलियम एसिडुले गोल गरे । यस जितसँगै सातदोबाटोले दुई खेलमा छ अङ्क जोडेको छ । सातदोबाटोले पहिलो खेलमा न्युराेड टिम (एनआरटी) लाई हराएको थियो । एपीएफको यो पहिलो हार हो । पहिलो खेलमा एपीएफले थ्री स्टार क्लबलाई हराएको थियो ।

यस्तै दशरथ रङ्गशालामा भएको खेलमा पुलिसलाई एक–शून्य गोल अन्तरले हराउँदै हिमालयनले पहिलो जित प्राप्त गरेको हो । हिमालयनको जितमा डिफेन्डर अमृत श्रेष्ठले निर्णायक गोल गरे । जितसँगै हिमालयनले दुई खेलमा चार अङ्क जोडेको छ । पहिलो खेलमा हिमालयनले मनाङ मर्स्याङ्दी क्लबसँग एक–एक गोलको बराबरी खेलेको थियो । पुलिसको यो लगातार दोस्रो हार हो । पुलिसले दुई खेलमा अङ्क जोड्न सकेको छैन । पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो ।

ए डिभिजन लिगमा हिजोदेखि दोस्रो चरणका खेल सुरु भएका हुन् । यस सिजनको ए डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा १ सय ८२ वटा खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।