एकदिवसीय क्रिकेटमा नेपालको अहिलेसम्मकै उच्च स्कोर

भूगाेल संवाददाता
२५ फाल्गुन २०७९, बिहीबार १३:३३

एकदिवसीय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा नेपालले दुई सय ९७ रन बनाएको हो । यो नेपालले एकदिवसीय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो स्कोर हो । यसअघि फागुनको २ गते नेपालले नामिबियासँगको खेलमा बनाएको २ सय ८७ रनको स्कोर नै अहिलेसम्मको उच्च स्कोर थियो । आजको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ सय ९८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो । आज नेपालका आशिफ शेखले शतक बनाएका छन् । उनले एक सय १० रन बनाए । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो ।

नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायमै राख्न २ खेल जित्नुपर्ने दबाब छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ ।