आईसीसी विश्वकप क्रिकेट लिग–२ : यूएईले पीएनजीलाई ६ विकेटले हरायो

भूगाेल संवाददाता
१ चैत्र २०७९, बुधबार १६:५६

 

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराएको छ ।

पीएनजीले दिएको २ सय ३५ रनको लक्ष्य यूएईले ६८ बलअघि नै ३८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै भेटायो । यूएईका लागि कप्तान मोहम्मद वसीमले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाउने क्रममा १ सय १७ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओ‌भरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो । पीएनजीका लागि कप्तान आसाद भालाले सर्वाधिक ६५ रन बनाए । यस्तै नोरमन भानुवाले नटआउट ४९ रन र रिले हिकुरेले ३३ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलालले सर्वाधिक ४ विकेट लिए । यस्तै रोहन मुस्तफा र जवार फरिदले १–१ विकेट लिए ।