थ्री नेसन्स कप खेल्ने नेपाली टोलीको घोषणा

भूगाेल संवाददाता
७ चैत्र २०७९, मंगलवार १३:५०

प्रधानमन्त्री कप थ्री नेसन्स कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले थ्री नेसन्स कप फुटबल प्रतियोगिताका आज मङ्गलवार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाल, भुटान र लाओस सम्मिलित थ्री नेसन्स कप भोलि बुधवारदेखि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

नेपालले बुधवार लाओससँग खेल्दै प्रतियोगिता सुरु हुनेछ । यस्तै चैत ११ गते भुटान र लाओस खेल्नेछन् भने त्यस्तै चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ । लिगका खेल बेलुकी ६ बजे सुरु हुनेछ । फाइनल खेल चैत १७ गते बेलुकी साढे ५ बजे सुरु हुनेछ । फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिङ्गल राउन्ड रोबिनको आधारमा हुनेछ । जसअन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा एन्फाले साधारण र भीआईपी प्यारापिटतर्फ दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ पाँच सय र भीभीआईपीतर्फ एक हजार रुपैयाँ टिकट दर राखिएको एन्फाले जनाएको छ ।

घोषित टोलिमा किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, विकाश खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान्त खड्का, पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मनीकुमार लामा, भरत खवास, आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी रहेका छन् ।