हालसम्मकै सबैभन्दा शक्तिशाली ‘स्टारसिप’ रकेटको आज पहिलो प्रक्षेपण गरिँदै

भूगाेल संवाददाता
४ बैशाख २०८०, सोमबार १५:१६

काठमाडौं । हालसम्मकै सबैभन्दा शक्तिशाली रकेटको आज पहिलो प्रक्षेपण गरिँदै छ । स्टारसिप नाम दिइएको यो रकेट अमेरिकी उद्यमी एलन मस्कको अन्तरिक्षसम्बन्धी काम गर्ने कम्पनी स्पेसएक्सले बनाएको हो ।

करिब १२० मिटर अग्लो यो रकेटले प्रक्षेपणका क्रममा निकाल्ने बल (थ्रस्ट) इतिहासका कुनै पनि रकेटभन्दा झन्डै दोब्बर हुनेछ । यात्रीरहित यो रकेट टेक्सासको बोका चिकाबाट प्रक्षेपण गरिनेछ । यसले पृथ्वीमा लगभग एक फन्को मार्ने लक्ष्य राखिएको छ ।

मस्कले सबैलाई रकेटप्रतिको आफ्नो अपेक्षा कम राख्न आग्रह गरेका छन् । रकेट प्रक्षेपणका क्रममा ढिलाइ वा असफलता सामान्य कुरा हुन् ।

“यो धेरै जटिल, विशाल रकेटको पहिलो प्रक्षेपण हो । त्यसैले यो प्रक्षेपण नहुन सक्छ । हामी धेरै होसियार हुनेछौँ । यदि, चिन्ता दिने कुनै कुरा देख्यौँ भने हामी प्रक्षेपण स्थगित गर्नेछौँ,” उनले ट्विटर स्पेससमा भनेका थिए ।

मस्कले भनेका छन्, “यदि, हामीले प्रक्षेपण गर्‍यौँ भने प्रक्षेपण प्याडमा समस्या नआउनुलाई नै पनि मैले जित मान्छु ।”

कुनै समस्या नदेखिएमा यो रकेट ग्रिनविच समयानुसार सोमबार १२ बजे अर्थात् नेपाली समयानुसार करिब साँझ पौने ६ बजे प्रक्षेपण हुनेछ ।

यो रकेट प्रक्षेपणसँगै मस्कले अन्तरिक्ष अन्वेषणलाई नयाँ उचाइ दिने अपेक्षा राखेका छन् । यो रकेटले एकै दिनमा धेरैपटक मान्छे एवं सामान अन्तरिक्षमा पठाउने काम गर्नेछ । यो रकेटको सफलताले आमनागरिकलाई समेत अन्तरिक्ष भ्रमणमा जान सक्ने स्थिति बनाउने मस्कको विश्वास छ ।

यो रकेटमा सामान एवं यात्री राखिने प्रमुख माथिल्लो भाग र मुख्य बलियो इन्जिन रहने तल्लो गरी दुई भाग छन् । सबै कुरा योजनाअनुसार अघि बढ्दा स्टारसिप रकेटको बुस्टरको तल्लो भागमा रहेका ३३ मिथेन इन्धनका इन्जिन दुई मिनेट ४९ सेकेन्डसम्म बल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसपछि रकेटका दुई भाग अलग हुनेछन् । माथिल्लो भाग यसमा रहेको इन्जिन बल्दा थप ६ मिनेट २३ सेकेन्डसम्म अघि बढ्नेछ । त्यति बेलासम्म यो रकेट पृथ्वीको सतहदेखि १०० किलोमिटरभन्दा माथि अन्तरिक्षमा उडिरहेको हुनेछ ।

मुख्य इन्जिन रहेको तल्लो भाग सुपर हेभी बुस्टर भने पृथ्वीमै फिर्ता आउनेछ । स्पेसएक्सले यो फेरि प्रयोग गर्न सकिने गरी टेक्ससको तटनजिक ठाडो रूपमा अवतरण गराउनेछ ।

यात्री वा सामान बोक्ने मुख्य माथिल्लो भाग (सिप) भने पृथ्वीको वरिपरि लगभग एक फन्को लगाएर पृथ्वीको वायुमण्डलमा फिर्ता आउनेछ । प्रक्षेपण गरेको करिब ९० मिनेटपछि यो सिप अमेरिकाको हवाई टापुहरूको उत्तरमा प्रशान्त महासागरमा अवतरण हुनेछ । नासास्पेसफ्लाइट डटकम र स्पेसएक्सका स्रोतहरूमा यसको लाइभ अपडेट एवं प्रक्षेपण हेर्न सकिनेछ ।