बागमती प्रदेशभर १८ हजारबढी गाई लम्पी स्किन रोगबाट संक्रमित, के छ यसको उपचार पद्धती ?

भूगाेल संवाददाता
११ जेष्ठ २०८०, बिहीबार १५:३८

 

हेटौंडा । बागमती प्रदेशभर लम्पी स्किन रोगबाट १८ हजारभन्दाबढी गाई संक्रमित भएको पाइएको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अनुसार प्रदेशभर १८ हजार ३ सय २४ गाईमा लम्पी स्किन रोगको संक्रमण पाइएको हो ।

लम्पी स्किन रोग भैंसीभन्दा गाईमा बढी संक्रमण भएको पाइएको हो । मन्त्रालयका अनुसार सिन्धुली जिल्ला ९ हजार ६ सय ३४ गाईमा लम्पी स्किन रोगको संक्रमण भएको पाइएको छ । मकवानपुरका ४ हजार ८ सय ३५, रामेछापमा १ हजार ९ सय ६५ र चितवनमा १ हजार ६० गाईमा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको कृषि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी काभ्रेमा ४००, नुवाकोटमा ३००, काठमाडौंमा ८३, ललितपुरमा ४०, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा १ वटा गाईमा संक्रमण भेटिएको हो । उक्त रोगबाट मकवानपुरमा १ सय ९७, सिन्धुलीमा ४७, नुवाकोटमा १०, काठमाडौंमा ४ र काभ्रेमा २ गरी हालसम्म २ सय ६० संक्रमित गाईको मृत्यु भएको छ ।

कस्तो हो लम्पी स्किन रोग ?
यो एक प्रकारको बन्यजन्तुमा लाग्ने भाइरस हो । जसलाई पक्स समूहको काप्री पक्स भाइरस हो । यो रोग भैंसीमा भन्दा गाईमा धेरै देखिने गर्दछ । यो रोग सर्वप्रथम सन् १९२९ मा अफ्रिका महादेशको जाम्बियामा देखिएको थियो । त्यसयता लामो समय अफ्रिकाको रैथाने रोगको रूपमा रहेको यस रोग सन् १९८९ मा इजरायलमा देखिएको थियो । सन् २०१२ पछि भने मध्य पूर्व, दक्षिण पूर्वि युरोप, रसिया, काजकिस्तान हुँदै बंगलादेश र भारतमा केही समय अघिदेखि देखा परेको थियो । भारतसंगको खुला सिमानाका कारण यो रोग नेपालका धेरै क्षेत्रमा फैलिरहेको देख्न सकिन्छ ।

यसका मूख्य लक्षणहरु ?
 अत्याधिक ज्वरो आउने (१०४ डिग्री फरेन्हाइट भन्दा बढी) ।
 पशु झोक्राउने, दाना पानी नखाने ।
 दुहुना गाईभैँसीको दूध २५–८० प्रतिशत सम्म घट्न सक्ने ।
 शरीरका विभिन्न भागहरु जस्तै घाँटी, खुट्टा, पेट, थुन वरपर र छालामा गिर्खा आउने र पछि गिर्खाहरु फुटी अल्सर हुन सक्ने ।
 आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने ।
 रोगी पशुलाई जीवाणुको संक्रमणले निमोनिया र थुनेलो हुन सक्ने ।
 रोगी पशुमा अन्य समस्या पैदा भई पशुको मृत्यु पनि हुन सक्ने ।
रोग सर्ने माध्यम
यो रोग विशेषतः झिङ्गा, लामखुट्टे, किर्नाको टोकाईबाट यो रोग सर्दछ । संक्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट पनि यो रोग सर्न सक्छ ।

लम्पी स्किन रोगको उपचार
यो रोगको खास उपचार छैन । विदेशमा यस रोगसम्बन्धी खोप निमार्ण भएतापनि नेपालमा हालसम्म उपलब्ध छैन तर खोप ल्याउने प्रक्रियामा भने सरकार लागिपरिरहेको बागमती प्रदेशका पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. बज्र किशोर ठाकुरले बताउनुभयो । यस खोपले गाईभैंसीको प्रतिरक्षा प्रणालीलाई राम्रो गर्ने र रोग लाग्नबाट बचाउने बताउनुभयो । तर विशेषत किसानले गोठ सरसफाईमा विशेष ध्यान दिन सके यो रोग लाग्नबाट आफ्ना पशुहरुलाई बचाउन सकिने उहाँको जिकिर छ ।

लम्पी स्किन रोग नियन्त्रण र रोकथामका लागि के छ त कृषि मन्त्रालयको तयारी ?
लम्पी स्किन रोग नियन्त्रण र रोकथामका लागि मन्त्रालयले विभिन्न तयारी गरिरहेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो । उहाँले केही दिन भित्र नै लम्पी स्किन डिजिज् नियन्त्रण र रोकथाम रणनीति, २०८० तयार गरी रोग नियन्त्रण र रोकथाम कार्यलाई व्यवस्थित र प्रभावकारी कार्यान्वयन गर्ने बताउनुभयो ।

१. रोगको कारण, लक्षण, यसबाट कृषकहरुमा पुग्ने क्षति एवं नियन्त्रण र रोकथामका बारेमा कृषक र सबै सरोकारवालाहरुमाझ जनचेतना फैलाउन प्रचार प्रसार सामाग्री तथा सूचना प्रकाशन गरिएको ।

२. रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम यथाशिघ्र शुरु गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुलाई निर्देशन दिई सकिएको । हाल मकवानपुर जिल्लाको मकवानपुरगढी गा.पा वडमा नं ६ मा १५ सय डोज खोप लगाउने कार्य सञ्चालन भईरहेको ।

३. बागमती प्रदेशभित्र कुनै स्थानमा लम्पी स्किन डिजिज् फैलिएमा मन्त्रालयको टोल फ्रि नम्बर १८१०५००००११ मा सम्पर्क गर्न कृषक तथा सरोकारवालाहरुलाई अनुरोध गरिएको ।

४. रोग ग्रस्त क्षेत्रमा गई तत्काल निःसंक्रमण, उपचार लगायतका नियन्त्रणका कार्यहरु सञ्चालन गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा तत्काल रोग नियन्त्रण टोली (आईडिसीटी) गठन गरिएको ।

५. पशु ओसारपसार र ढुवानीका माध्यमबाट रोग सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा प्रचलित कानून बमोजिम पशु ढुवानी र ओसारपसार कार्यलाई नियन्त्रण वा निषेध गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुलाई निर्देशन दिई सकिएको ।

६ रोग नियन्त्रण र रोकथाम कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले केही दिन भित्र नै लम्पी स्किन डिजिज् नियन्त्रण र रोकथाम रणनीति, २०८० तयार गरी कार्यान्वयन गर्ने ।

७. कृषकहरुलाई आफ्नो पशु फार्ममा रोग फैलिन नदिन जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न अनुरोध गरिएको र गर्दै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा प्रचलित कानून बमोजिम पशु ढुवानी र ओसारपसार कार्यलाई नियन्त्रण वा निषेध गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुलाई निर्देशन दिई सकिएको ।