धर्नामा बसेका नागरिकमाथि प्रहरी दमन तत्काल बन्द गरियोस् : अमरेश कुमार सिंह

भूगाेल संवाददाता
६ असार २०८०, बुधबार १३:१७

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका नागरिकमाथि प्रहरीले दमन गरेको भन्दै निन्दा र भर्त्सना गरेका छन् । नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि उनले सरकारसँग माग गरे ।

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा उनले नागरिकतासम्बन्धी विचाराधीन मुद्दालाई किनारा लगाउन ढिलाइ नगर्न सर्वोच्च अदालतको समेत ‘ध्यानाकर्षण’ गराए ।

“केही दिनदेखि नागरिकता नपाएकाहरू माइतीघर मण्डलमा धर्नामा बसेका छन् । साथसाथै, संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनशनमा बस्नुभएको छ । उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाइज हुनुहुन्छ,” उनले भने, “एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चुकेकै छन् । जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने, त्यो पनि सरकारले गर्न सकिरहेको छैन । हिजो नै उनीहरूसँग जुन व्यवहार भएको छ, त्यसको भर्त्सना गर्न चाहन्छु । किनकि, कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् । सरकारसँग माग गर्न चाहन्छु ।”