७१ हजार मेट्रिक टन मल मौज्दात छ, विगतको जस्तो अभाव हुन्न : प्रधानमन्त्री प्रचण्ड

भूगाेल संवाददाता
८ असार २०८०, शुक्रबार १५:४१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न बिक्री डिपोमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद अब्दुल खानको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले २०७९ साउन महिनादेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सुरुमा रासायनिक मलका लागि १५ अर्ब रुपियाँ विनियोजन भएप नि थप २३ अर्ब रुपियाँको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ । यसबाट सरकार किसानहरुका लागि रासायनिक मल उपलब्ध गराउन जिम्मेवार रहेको तथ्य प्रमाणित हुन्छ ।मलको आयातमा सङ्घीय मन्त्रालयलाई जिम्मेवार बनाइएको छ भने वितरण कार्यमा प्रदेश र स्थानीय तहहरुलाई परिचालन गरिएको छ । मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको कुरा पनि म जानकारी गराउन चाहन्छु ।’’

प्रधानमन्त्रीले सोमध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरुमा मौज्दात रहेको बताउनुभयो । त्यस्तै, यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी मल ल्याइने पनि उहाँले जानकारी गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले यो वर्ष धान रोप्ने महिनामा विगतको जस्तो मल अभाव नहुने बताउनुभयो ।