त्रिशूली नदीमा खसेको एञ्जल डिलक्समा थिए १७ नेपाली र ७ भारतीय
हेटौंडा । नारायणगढ—मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको पाइएको छ । शुक्रबार बिहान साढे तीन बजेतिर पहिरोमा परेर बगेको यात्रुवाहक बसमा पर्साको १७ जना नेपाली र ७ भारतीय रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरका बुकिंग इन्चार्ज प्रेम साह कानूले बताए ।
वीरगञ्जबाट काठमाडौँ जाने क्रममा बस पहिरोमा परेर बगेको हो । पर्साको रंगपुरबाट खुल्ने एञ्जल डिलक्स प्रा।लि।को बस नं. प्र०३००६ ख १५१६ मा पर्सा र भारतका गरी कुल २४ जना यात्रु सवार थिए । यात्रुहरू पर्साको रंगपुरबाट ९ जना वीरगञ्ज बसपार्कबाट भारतीय र नेपाली गरी १२ जना, १ जना सवारी चालक २ जना सहचालक रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरको बुकिंग इन्चार्ज प्रेम साह कानूले बताए ।
‘हिजो हामीले गाडि बुकिंग गरी वीरगञ्जबाट राति ८ बजे काठमाडौँको लागि पठायौँ। आज बिहान ४ बजे आफूलाई गाडि दुर्घटनामा परेको जानकारी भयो ।
चालक वीरगञ्ज नगवा निवासी हुन् भने अन्यको बारेमा जनाकारी लिने कार्य हुँदै गरेको कानूले बताए। यता, काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स पनि पहिरोमा बगेको छ।