त्रिशूलीमा बेपत्ता २ बसको खोजी तेस्रो दिन पनि जारी, अझै ४८ जना भेट्न बाँकी
हेटौंडा। यही असार २८ गतेदेखि नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता दुई यात्रुवाहक बस खोज्ने क्रम जारी छ । दुर्घटना भएको दिनदेखि दैनिक खोजी भइरहेको भए पनि यात्रुसहित नदीमा हराइरहेका ती २ बस अझै फेला पर्न सकेका छैनन् ।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस असार २८ गते बिहान चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो जाँदा त्रिशूलीमा खसेका हुन् । काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ ।
तीमध्ये शनिबार तीनवटा शव फेला परेका छन्। खोजीका क्रममा शनिबार दुर्घटनास्थल सिमलतालभन्दा ५० किलोमिटर तल गोलाघाटस्थित नारायणी नदी किनारमा एउटा शव र नवलपरासीको गैँडाकोटस्थित नारायणीकै किनारमा दुइटा शव भेटिएका हुन् । प्रहरीका अनुसार मृतकहरू चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह भएको पुष्टि भएको छ ।
बाँकी यात्रु तथा बसको खोजी आज तेस्रो दिन पनि जारी राखिएको छ । शनिबारदेखि पानीभित्रका वस्तु पनि देख्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्स्पेक्सन सिस्टम आदिको समेत प्रयोग भइरहेको छ । खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संलग्न छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले आज सशस्त्र प्रहरी बल नेपालका तर्फबाट ९० जना परिचालन गरिएको जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी गर्ने उनले बताए ।
त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसको प्रयोग गरी घटनास्थलदेखि १ किलोमिटर तल तथा भरतपुर महानगरपालिका–१६स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म खोजी गर्नेछ । त्यसैगरी नम्बर १७ गण चितवनबाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित ४५ जना घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीमा खटिनेछन् । निरन्तर वर्षाका कारण नदीमा धमिलो पानी आउँदा सोनार क्यामरा र अन्य डिभाइसले समेत बेपत्ताहरूको खोजी असहज भइरहेको छ ।