मध्यराति बस्तीमा पस्यो बाढी : ३ बालबालिकाको मृत्यु, १ बेपत्ता, सात जना घाइते

भूगाेल संवाददाता
१ श्रावण २०८१, मंगलवार १०:४९

काठमाण्डौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ मा पर्ने तातोपानी बस्तीमा बाढी पसेको छ । गएराति अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । तातोपानी गाउँको छेउमै रहेको तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढी बस्तीमा पसेको हो। बाढी बस्तीमा पसेर घर भत्काउदा सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुद्रबहादुर पुनका दुई वटी छोरी ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन रहेका सोही वडाका वडाध्यक्ष खुम्मे कुसारीले जानकारी दिए । उनका अनुसार लेदोसहितको बाढीले सोही ठाउँका लालबहादुर सार्कीको ४ वर्षीया मनिषा सार्कीको समेत मृत्यु भएको छ ।

यस्तै, तातोपानी खोला र झिन्चौर खोलामा आएको लेदो सहितको बाढी बस्तीमा पसेर स्थानीयहरुको उठिबास बनाएको उनले बताए ।
उनले भने, ‘यी खोला सानै हुन् । बाढी आउने र बस्ती नै बगाउने खालका थिएनन्। यी बस्ती निकै पुराना हुन्। तर, गएराति आएको अविरल वर्षाले पहाड नै भत्किएर लेदो सहितको बाढी बस्तीमा पसेपछि यहाँका नागरिक चिन्तामा परेका छन्। बस्ती नै बगाउने गरेर यस्तो बाढी पहिला आएको थिएन् ।’
वडाध्यक्ष कुसारीले लेदोसहितको बाढी बस्तीमा पस्दा ४० घर जोखिममा परेका बताए।