बकैया गाउँपालिकाले कोदो, फापर र सेतो सिमि खेती गर्ने किसानलाई अनुदान दिने

भूगाेल संवाददाता
१६ श्रावण २०८१, बुधबार १७:२९

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले कोदो, फापर र सेतो सिमि खेती गर्ने किसानहरुलाई अनुदान रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानहरुलाई उत्पादनको आधारमा प्रोत्साहन दिने भएको हो ।

कोदो उत्पादनमा प्रति किलोग्राम १० रुपैंया, फापर उत्पादनमा प्रति किलोग्राम २० रुपैंया र सेतो सिमि उत्पादनमा प्रति किलोग्राम १० रुपैंया अथवा प्रति रोपनी ५ सय रुपैंया अनुदान रकम उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश श्रेष्ठले बताए ।

जसका लागि आउँदो भदौ १२ गतेभित्र गाउँपालिकाको आर्थिक विकास महाशाखामा वा सम्बन्धित वडा कार्यालयमा आवेदन दिन भनिएको छ । नेपाली नागरिकताको प्रतिलिपि, जग्गाको स्वामित्व खुल्ने कागज र वडा कार्यालयको सिफारिस सहित आवेदन दिन पर्ने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

यस्तै, पालिकाले किसानहरुको उत्पादनलाई गाउँमै संकलन गरेर बजारीकरणमा सघाउने उदेश्यले बकैया कृषि संकलन तथा बिक्री केन्द्रको समेत स्थापना गर्ने तयारी गरेको उक्त केन्द्रका व्यवस्थापक विकास श्रेष्ठले बताए । उनका अनुसार किसानहरुले उत्पादन गरेका कृषि उपज, दूग्धजन्य पदार्थ लगाएतको बजारीकरणमा सहयोग पुग्ने बताइएको छ ।