सारंगी बजाएर परिवार पालिरहेका दीपक गन्धर्व

भूगाेल संवाददाता
२७ श्रावण २०८१, आईतवार ११:०९

हेटौंडा । केही दिनदेखि हेटौंडाको गल्ली–गल्लीमा सारंगी बजाइरहेका छन् दाङको घोराही नगरपालिका–३ घर भएका दीपक गन्धर्व ।  काठमाडौँ  बाहेक फाट्फुट्ट देशका अन्य सहर पनि पुग्छन् उनी ।   अहिले उनी हेटौँडाका टोल–टोल, गल्ली–गल्लीमा सारंगीको धुन सुनाउँदै डुलिरहेका छन् ।

उमेरले ४ दशक नाघेका दीपक गन्धर्व गीत गुन्गुनाउँदै सांरगी रेट्छन् र जीविकाका लागि खर्च जुटाउँछन् । रहर त उनको नेपाली सेना बन्ने थियो, तर उचाइ नपुगेकै कारण बाउबाजेकै पेसा अँगाल्न बाध्य भएको उनी बताउँछन् । ‘द्वन्द्वकालका सेनामा भर्ती भएका साथीहरूको पेन्सन पाक्यो, म भने अझै यही सांरगीको टेन्सनमा छु’, हेटौँडाको मानसचोकमा भेटिएका गन्धर्वले ठट्टा गर्दै भने ।

बुवा राते गन्धर्वको साथ लागेर १३र१४ वर्षकै उमेरदेखि सांरगी रेट्न सुरु गरेका उनले आधा दर्जन सारंगी फेरिसके । सारंगीको धुन बेचेरै पालिएको छ–दीपकको ५ जनाको परिवार । ‘गाउँमा शुभकार्य हुँदा गन्धर्वलाई गीत गाउन बोलाइन्थ्यो । बुवाले गीत गाइरहँदा मैले सारंगी बजाउन सिकेँ’, दीपक आफ्नो बाल्यकाल स्मरण गर्छन्, ‘एकरदुई वर्षमा त गीत गाउन पनि जानेँ । बुवालाई बोलाउने मान्छेहरूले जेठो छोरालाई पनि ल्याऊ भन्थे अरे१ त्यही भएर बुवाले सधैँ लानुहुन्थ्यो। मैले गीत गाउँदा र नाचेको देखेर सबैजना दंग पर्थे ।’

‘काठमाडौँबाट रात्रिबस चढेर आएका हौँ । म त हेटौँडा पहिलोपटक आएको हुँ । मेरो साथी प्रकाशले ल्याएको हो । ऊ त प्रायः यहाँ आइरहेको हुन्छ । सारंगी बजाउनकै लागि हामी कता–कता पुगिरहेका हुन्छौँ’, दीपकले सुनाए ।
दीपक १४ वर्षकै हुँदा बुवा बिते। एउटा भाइ र आमाको संरक्षण गर्ने जिम्मेवारी उनको काँधमा आयो। भाइलाई पढाएर सेना बनाउने सपना पूरा गर्नु थियो भने आमालाई बुवा नभएको महसुस हुन नदिने गरी पाल्नु थियो ।

कक्षा ५ पढ्दापढ्दै पढाइ छोडेका उनले घरखर्च जुटाउन गाउँ वरपर नै सारंगी बजाउने थाले । गाउँमा उतिबेला सारंगी बजाउने गन्धर्वलाई सिदा दान दिइन्थ्यो । चामल, दाल, बेसार नुन र बारीमा फलेका हरियो तरकारी पनि राखेर दान दिन्थे। पैसा कमैले मात्रै दिन्थे । यही खाद्यान्न जम्मा गरेर दीपकको घरको चुल्लो बल्थ्यो । गाउँमा बसेर कमाइ नहुने अवस्था देखिएपछि उनका पाइला बजारतर्फ मोडिए । १९ वर्ष पार गरेर उनी २० वर्षमा प्रवेश गरेका थिए। गाउँकै दाइरकाकाहरूको पछि लागेर उनी बसमा बजार आउन थाले ।

दाङको तुलसीपुर, घोराही चल्ने बसमा आउँदा(जाँदा नै राम्रो कमाइ हुन थाल्यो । दिनभरि बजारतिरै सारंगी बजाउँदा त सोचेभन्दा पनि राम्रो पैसा हात पर्‍यो । यसरी हाताहाती पैसा आउन थालेपछि दीपक सहर केन्द्रित भए । ‘गाउँमा त आजभोलि चाडपर्व मान्न मात्रै गइन्छ । कमाइ हुने भनेकै सहरमा मात्रै हो’, उनी सुनाउँछन् ।

दिनभरि डुल्दा दीपकले दैनिक १ हजारदेखि १५ सय रुपैयाँसम्म कमाउँछन् । कतै ठूलै जमात भेटिँदा त २ हजार, २५ सयसम्म कमाइ हुने सुनाउँछन् । यही कमाइले उनको ५ जनाको परिवार धानिरहेको छ । तर आफ्नो कमाइमा सन्तुष्ट छन् दीपक।

‘सन्तुष्ट के कुरामा मान्ने भन्ने पनि हो’, उनले थपे, ‘सँगैका साथीहरू विदेश गएर आए । बजारमा बिल्डिङ घर ठड्याएका छन् । कोही सैनिक भएर पेन्सन पकाइसके। म भने यही थोत्रो सारंगी रेटिरहेको छु। तर पनि मलाई केही गुनासो छैन, पुर्खाको पहिचान जोगाइरहेको छु । खान, लाउन र बालबच्चा पढाउन पुगिरहेकै छ। यतिमै सन्तुष्ट छु ।’