हेटौंडामा एक महिनामा दुईवटा कन्सर्ट हुने

लाभ रकमको केही प्रतिशत बाल गृहलाई दिईने
भूगाेल संवाददाता
७ भाद्र २०८१, शुक्रबार १६:५१

हेटौंडा । हेटौंडामा एक महिनाको अन्तरालमा दुईवटा कन्सर्ट हुने भएको छ । भाद्र २९ गते र असोज २५ गते पिस नेपाल इन्टरटेन्मेन्टले हेटौंडामा कन्सर्ट आयोजना गर्न लागेको हो।

भाद्र २९ गतेको कन्सर्टमा अन्तरास्ट्रिय स्तरमा ख्याति प्राप्त चर्चित र्‍याप गाएक समीर घिसिङ उर्फ भिटेन ल्याउन लागेको पिस नेपालका प्रवन्ध निर्देशक बाबू तितुङले जानकारी दिए। उनका अनुसार सोही दिन झापाको चर्चित ब्याण्ड द्रव्य ब्याण्ड र अम्लेखगन्जका चर्चित र्‍यापर भुपेको पनि प्रस्तुति रहने छ।

त्यस्तै, अशोज २५ गतेको कन्सर्टमा एकैदिन युवा पुस्तामा चर्चित गायकद्वय सबिन राई र छेवाङ लामा आउने छन्। कन्सर्टबाट भएको लाभ रकमको केही प्रतिशत हाम्रो घर बाल गृहलाई सहयोगार्थ हस्तान्तरण गरिने प्रवन्ध निर्देशक तितुङले बताए । उनले हेटौंडाबाट कन्सर्टको लागि अन्य जिल्ला धाउनु पर्ने बाध्यतालाई चिर्न र आफ्नो हेटौंडा–७ नागस्वतीलाई सबैसामु परिचीत गराउन कन्सर्ट आयोजना गरेको बताए ।

नागस्वती युवा क्लबको आयोजना तथा उनकै अगुवाइमा यस अघि नागस्वतीमा औद्योगिक मेला/महोत्सव आयोजना भएको थियो। यस्ता कन्सर्ट तथा मेला/महोत्सव गर्नाले त्यो ठाउँको व्यवसायीक प्रवर्द्धन हुने उनको बुझाई छ।