असोज १९ गते हेटौंडामा लाईभ सेलो साँझ हुने

भूगाेल संवाददाता
९ भाद्र २०८१, आईतवार १६:०७

हेटौंडा । मकवानपुर जिल्लाको हेटौंडामा नेपालमै पहिलो पटक ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम हुने भएको छ। आगामी असोज १९ गते हेटौंडाको पल्पसा सभाहलमा ऐतिहाँसिक रुपमा ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम हुने भएको हो।

टुंङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर,एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्था ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

कार्यक्रमा मकवानपुरे चर्चित सेलो गायक प्रकाश तितुङ, गायिका सुमिना लो र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने ओपेरा ईन्फोटेन्मेन्टका प्रोप्राईटर विक्रम लुङ्बाले बताए। उनले सो कार्यक्रमले तामाङ समुदायको मौलिकतामा जागरण ल्याउनुकासाथै मकवानपुरे तामाङ कलाकारलाई प्रत्साहन हुने बिश्वास व्यक्त गरे।

उनका अनुसार कार्यक्रममा प्रवेश स:शुल्क भएपनि हालसम्म टिकटको शुल्क तय भएको छैन। सेलो साँंझ भएतापनि कार्यक्रममा हिन्दुधर्मावलम्बीरुको महान चाड विजया दशमीको शुभकामना आदान-प्रदान समेत गरिने प्रोप्राईटर लुङ्बाले बताए। उनले थपे चाडपर्वले फरक फरक धर्मावलम्बीहरुबिच आत्मीयता र सद्भाव बढ्ने भएकाले मकवानपुरमा प्रायः तामाङहरुले पनि दसैं मान्दै आएका छन्।

मकवानपुर जिल्लामा हुने तामाङ समुदायसँग सम्बन्धित हरेक कार्यक्रममा तामाङ घेदुङ मकवानपुर स्वतः एक सहयोगी संस्थाको रुपमा रहने नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सचीव किरणमान बलले बताए। पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समन्वय समिति सल्लाहकार सानू लामा, उपाध्यक्ष आत्माराम मोक्तान, कोषाध्यक्ष सुरेश लामा, तामाङ कलाकार संघ मकवानपुर सदस्य तथा कार्यक्रम संयोजक हेम कुमार तितुङ र सेलो गायक तितुङ लगायतको उपस्थिति थियो।