को हुन् ‘छक्का पञ्जा ५’ को ‘बिहे भाको छैन’ गितका हेटौंडेली गायक सविन सुवेदी?

भूगाेल संवाददाता
२२ भाद्र २०८१, शनिबार १६:०४

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडाको स्थायी वासिन्दा हुन्- सबिन सुवेदी । उद्योग वाणिज्य सघंले आयोजना गर्ने औद्योगिक व्यापार मेलामा सोही अवसरमा आयोजना गर्ने गरेको हेटौंडा आईडलबाट गायन यात्रामा उदाएका सविनले चलचित्र छक्का पञ्जा ५ मा गीत गाएपछि अहिले चर्चामा छन् ।

मकवानपुरको हेटौंडामा पिता राजु सुवेदी र माता सीता सुवेदीको कोखबाट जन्मेका सविन यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर नेपाली संगीत गायन क्षेत्रमा सक्रिय छन् । सविनले दर्जनौ गीत गाए उति चर्चा भएन तर छक्का पञ्जामा गाएको गीतले उनको वर्षौ देखीको गायनमा चर्चा कमाउने प्यास बुझ्यो ।

एक सय जति गीत रेकर्ड गरेको बताउने उनी ३० वटा जति गीत श्रोता र दर्शकमाझ आएको बताउछन् । उनले गाएको ‘तिम्रो याद आयो’, ‘स्वप्निल तिम्रा’, ‘तिम्रो आँखै रसिलो’, ‘चप्पल साटियो’ जस्ता गीतलाई श्रोता दर्शकहरुले मन पराएका छन् । पछिल्लो समय चलचित्र ‘छक्का पञ्जा ५’को चर्चित गीत ‘बिहे भाको छैन’मा उनले स्वर भरेपछि उनको पुराना गीतहरुपनि श्रोताहरुले खोजीखोजी सुनिरहेका छन् । युट्युबमा अहिलेसम्म ‘छक्का पञ्जा ‘बिहे भाको छैन’ लाई ३८ लाख बढीले हेरिरहेका छ्न्।

सविनले सबै खालका गीत गाए पनि लोक आधुनिक गीतमा आफ्नो अलिक बढी झुकाब रहेको बताउँछन् । आफु सानैदेखि गीत संगीत मन पराउने भएकाले यसै क्षेत्रमा करिब डेढ दशकदेखी लागी परेको उनको भनाई छ । गीत संगीतमै केही गर्छु भन्ने थियो, त्यसैले यो क्षेत्रमा धेरै झुकाव बढाएँ, उनले भने । औपचारिक रूपमा सिक्ने क्रमचाहिँ २०६५ बाट भएपनि व्यवसायिक रूपमा भने २०७६ बाट गायन यात्रा सुरु भएको उनले बताए

मैले सबै खालका गीत गाएको छु, राम्रो पनि लाग्छ । तर, मलाई पछिल्लो समयमा लोक आधुनिक गीततिर बढी झुकाब भएर होला लोक आधुनिक गीत गाउन अझै मज्जा लाग्छ उनले बताए। मेरा रेकर्डिङ भएका गीत जति सयको हाराहारीमा पुग्यो तर, बजारमा आएका गीतहरू चाहिँ साढे दुई दर्जन जति छन् उनले सुनाए। ‘बिहे भको छैन’, ‘तिम्रो याद आयो’, ‘स्वप्निल तिम्रा’, ‘तिम्रो आँखै रसिलो’, ‘चप्पल साटियो’ लगायतका गीतहरु आफ्नो गनिने गीतहरुमा पर्छ उनले बताए ।

पछिल्लो समयमा लोक आधुनिक गीततिर श्रोताहरुको बढी झुकाब भएर होला आफुलाई पनि लोकगीत गाउन अझै मज्जा लाग्ने उनले बताए । छक्का पञ्जाको गीत गाउने अवसर पाएपछि संगीत क्षेत्रमा आफु नोटिस भएको उनले सुनाए । राम्रो र ठुलो व्यानर पाईयो भने चल्न बेर लाग्दो रहेनछ उनले भने । यो गीत सुरुमा बन्ने बेला देखिनै मैले सुनेको र मैले आफ्नै आवाजमा गाएर दीपकराज गिरी सरलाई सुनाउँदा उहाँले मन पराउनुभयो अनि मलाई यो अवसर दिनुभयो । त्यसका लागि धेरै आभारी छु संगीतकार दीपक शर्मा सर र छक्का पञ्जा टिमप्रति,  उनले भने ।

यो क्षेत्रमा सबैको सपोर्ट पाए भने अझै राम्रो गीतहरु गाउने आशा अपेक्षा रहेको सविनले बताएका छन् ।