जिल्ला लिग फुटबल: समूह चरणको सोमबार ५ खेल सकियो, मंगलबार ४ खेल हुने
हेटौँडा । मकवानपुर जिल्लाको हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा समूह चरणको ५ खेल सम्पन्न भएको छ । आज सोमबार हेटौँडाको दुई खेल मैदानहरु गौरीटार रंगशालामा दुई र सिमलटार खेलमैदानमा तिन खेलहरु भएको थियो।
गौरीटार रंगशालामा न्यू डाँफे युवा क्लब र गोर्खा ब्वाइज क्लबबीच भएको पहिलो खेल १-१ को बराबरीमा टुंगीयो। जसमा, डाँफेका लागि सुशान्त लामाले गोल गरेका थिए भने गोर्खा ब्वाइजका लागि मनोज घलानले गोल गरे। उक्त खेलको म्यान अफ द म्याच लाक्पा लामाले पाए।
त्यस्तै, गौरीटार रंगशालामै भएको दोस्रो खेलमा न्यू कम्वाइन क्लबसँग एफसी मल्टिभिजन २-० को अन्तरले पराजित भए। जसमा, सुमन वाईबा र सुजल थिङले १-१ गोल गरेका थिए । खेलको म्यान अब द म्याच भने वाईबाले पाएका हुन्।
सोही दिन सिमलटार खेलमैदानमा भएको पहिलो खेलमा हटिया स्पोर्ट्सले सानो पोखरालाई १-० ले हराएको छ। उक्त खेलमा हटिया स्पोर्ट्सको लागि गोल गरेका साजन मुक्तानले म्यान अफ द म्याच पाएका हुन्।
त्यस्तै, सिमलटार मैदानमै भएको दोस्रो खेलमा ७ नं. फुटबल क्लबलाई २-० ले हराउँदै पदमपोखरी युथ क्लबले आफ्नो स्थान सुरक्षीत बनायो। उक्त खेलमा पदमपोखरी क्लबका लागि सुमन थिङ र विवश थिङले १-१ गोल गरे भने म्यान अफ द म्याच रोजल थिङले हात पारे। त्यस्तै, सिमलटार खेल मैदानमा पिप्ले युवा क्लवसँग हेटौंडा फुटबल एकेडेमी ५-१ को गोल अन्तरले पराजित भयो।
सोही खेल मैदानहरुमा मंगलबार (भोलि) पनि समुह चरणकै ४ खेल हुनेछ। गौरिटार रंगशालामा हुने पहिलो खेल दिउँसो ०१:०० बजे एफसी चाईना र प्रतिभा क्लबबीच हुनेछ भने दोस्रो खेल अप्राहन्न ०४:०० बजे एफसी ईन्टरनेट र एफसी पोतालाबीच हुनेछ।
यस्तै, सिमलटार खेल मैदानमा हुने पहिलो खेल दिउँसो ०१:०० बजे हाँडीखोला युवा क्लब र युनाईटेड नाईनबीच हुनेछ भने दोस्रो खेलमा अप्राहन्न ०४:०० बजे सहिद स्मृती र पशुपति क्लबबीच हुनेछ।