त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

भूगाेल संवाददाता
८ आश्विन २०८१, मंगलवार १३:२८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षाको व्यवस्था गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गर्दै उक्त जानकारी गराएको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग के।सी।को अध्यक्षतामा समितिको सोबार बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ ।

प्रकाशित सूचना अनुसार मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका २०५८ सालदेखिका वार्षिक प्रणालीअन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका विद्यार्थीका लागि एक पटक मौका परीक्षा सञ्चालन गर्न लागिएको हो ।