बुद्ध मोक्तान र मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ सार्वजनिक

भूगाेल संवाददाता
१४ आश्विन २०८१, सोमबार १३:३५

मकवानपुर । गायक बुद्ध मोक्तान र गायिका मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ बोलको गीत सार्वजनिक भएको छ । गायक बुद्ध मोक्तानकै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।गीतमा मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हेटौँडाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको चर्चा गरिएको छ । हेटौँडा १७ हटिया निवासी गायक मोक्तानले आफु जन्मेको स्थानका बारेमा निक्कै सुन्दर शब्दहरु कोरेका छन् ।

गीतको म्युजिक भिडियोमा मकवानपुरगढी दरबार, शहिद स्मारक, गुम्बा डाँडा, दारको ठेकी, हेटौँडा बजार, जुरेथुम पर्यटकीय पार्क, पुष्पलाल पार्क, मनकामना, भैरवडाँडा, पाथिभरा, भुटनदेवी, चुरियामाई लगायतका पर्यटकीय, ऐतिहासिक तथा साँस्कृतिक र धार्मिक क्षेत्रहरुको चर्चासँगै सुन्दर दृश्यहरु समावेश गरिएको छ ।

लामो समयदेखि नेपाल प्रहरीमा कार्यरत रही गायनमा समेत सक्रिय रहेका बुद्ध र विभिन्न गीतका साथै भोईस अफ नेपालबाट चर्चामा आएकी मनिषाको आवाज रहेको यो गीतमा गायक बुद्ध मोक्तानकै शब्द रहेको छ । गीतमा विष्णु तामाङको संगीत र एरेञ्ज रहेको छ । अडियो ल्याब स्टुडियोमा दिपकराज विश्वकर्माले रेकर्ड गरेको गीतलाई कुमार सानु पुनले मिक्सिङ मास्टरिङ गरेका छन् । म्युजिक भिडियोको व्यवस्थापकीय पक्ष बिमल स्याङ्तानले सम्हालेका छन् ।

म्युजिक भिडियोलाई शरण हुँमागाईँले निर्देशन, छायाँकन तथा सम्पादन गरेका छन् ।