मकवानपुरगढीमा फुटसल प्रतियोगिता स्थगित, खेलकुद कार्यक्रम नगर्न खेविसको अनुरोध
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकामा निर्धारण गरिएको सबै खेलकुद प्रतियोगिता स्थगित गरेको छ । गाउँपालिका स्तरीय खेलकुद विकास समितिको मंगलबार बसेको बैठकबाट यस्तो निर्णय गरेको हो ।
बैठकले गाउँपालिकाले असोज १७ गतेदेखि हुने भनिएको फुटसल प्रतियोगिता समेत स्थगित गर्ने निर्णय गरेको समितिका सदस्य सचिव राम बहादुर घलानले जानकारी दिए ।
गाउँपालिकाले आफ्नो सबै वडा, संघसंस्था लगायत विभिन्न क्लबद्वारा निर्धारण गरिएको सम्पुर्ण खेलकुद कार्यक्रमहरु अर्को सूचना नआउन्जेल सम्मका लागि स्थगित गर्न अनुरोध गरिएको उनले बताए ।
अविरल वर्षाका कारण एन्फा एकेडेमीमा प्रशिक्षण लिइरहेका एकेडेमी सिस्नेरीबाट निस्किने क्रममा असोज १२ गते पहिरोमा परी ६ जना प्रशिक्षार्थी खेलाडीले ज्यान गुमाए । जसमा मकवानपुरगढीका साइमन योन्जन, हेटौंडाका अनुपम घलान, सर्लाहीका आदित्य बलम्पाखी, काठमाण्डौंका रियान्स आचार्य, बाराका विकल रेग्मी र मकवानपुरकै दिवस बानियाँ सदाका लागी अस्ताए ।
दिवगंत ६ जनामा श्रदाञ्जली अर्पण गर्दै देशले खेलाडी गुमाएर सिंगो मुलुक नै शोकमा डुबेको बेला उत्सवको रुपमा खेलकुद कार्यक्रम आयोजना गर्नु स्वभनिय नरहेकोले कार्यक्रम स्थगित गरिएको उनले बताए ।