कार्तिक ३ गते ‘गोजी रित्तै’ चलचित्रको हेटौंडामा विषेश प्रदर्शन हुने

चलचित्रमा अधिकांश मकवानपुरका कलाकार अभिनित
भूगाेल संवाददाता
२१ आश्विन २०८१, सोमबार १९:२०

हेटौंडा । जेजी फिल्म्स् प्रोडक्सन प्रालिको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘गोजी रित्तै’ को हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ । अधिकांश मकवानपुरका कलाकार अभिनित ‘गोजी रित्तै’ चलचित्रको हेटौंडामा कार्तिक ३ गते विषेश प्रदर्शन हुन लागिएको हो ।

सोमबार चलचित्र निर्माण टिमले पत्रकार सम्मेलन आयोजना गर्दै हेटौंडाको ओम्याक्स हलमा विशेष प्रदर्शन गर्ने तयारी रहेको जानकारी दिएका हुन् । उक्त दिनको विहान ९ बजे हुने शोको टिकट मुल्य रु. ५ सय रहने बताइएको छ । चलचित्रमा मकवानपुका करिब ६० प्रतिशत कलाकार अभिनित रहेको जनाइएको छ । ५० लाख बढी लगानिमा बनेको उक्त चलचित्र मकवानपुको हेटौंडा र काठमाडौंको विभिन्न ठाउँमा छायांकन गरिएकोे सह–निर्मात्री राधिका लामाले बताइन् । छायांकनको लागी करिब ४०/४५ दिन लागेको सो चलचित्र सवा २ घण्टा समय अवधिको रहेको उनले बताइन् ।

यस्तै, चलचित्रमा देशमै केही गर्छु भन्ने सोच बोकेका युवाहरु बेरोजगारी र असफलताका कारण ठगी गर्न बाध्य बनेको विषयलाई मनोरञ्जनात्मक ढंगले चित्रण गरिएको कलाकार विक्रम लुङ्बाले बताए। देशभर प्रदर्श गर्ने मिति तय नभए तापनि चलचित्र प्रति अधिकतम दर्शको माग आएको कारण विशेष प्रद्धर्शन गर्न लागिएको उनले बताए।

उक्त चलचित्र टिमले मुग्लान ह्यूल, छामो, मि लोभी, रुङ्सी टिला र तुझेछे लगायतका करिब आधा दर्जन तामाङ भाषाका चलचित्र निर्माण गरेको उनले बताए। उनका अनुसार प्रदर्सन हुनेमा यो चलचित्र टिमबाट निर्मित ‘गोजी रित्तै’ पहिलो नेपाली भाषाको चलचित्र हो। उनले भने ‘एउटा समुदायले मात्र बुझ्ने तामाङ भाषाका फिल्म सफल भएपछि सबैले बुझ्ने नेपाली भाषाको फिल्म पनि बनाउने हौसला मिल्यो।’ सोही चलचित्र टिमबाट निर्मित अन्य दुई नेपाली चलचित्र ‘सृजना’ र ‘लिटिल स्टार’ पनि प्रदर्शको तयारीमा रहेको उनको भनाई छ।

चलचित्रमा चर्चित हाँस्य कलाकार बुद्धि तामाङ, विष्णु सापकोटा, श्याम राई, शारदा गिरी, राजु श्रेष्ठ, नमिता राई, मनिल तामाङ, कुञ्जु महर्जन, राधिका स्याङ्तान, माया घलान, पुजा लामा, विक्रम लुङ्वा, भरत पाख्रिन, सन्तोष थोकर, देव लामा, राजु नेगी, बाबु थिङ, धन पाख्रिन र तुलसी गौतम लगायत कलाकारहरुको भुमिका रहको बताइएको छ ।

शिला तामाङ र शुकदेव गोलेबाट निर्मित ‘गोजी रित्तै’ लाई विनोद परियारले निर्देशन गरेका छन्। यस्तै, राजु किरातले द्वन्द निर्देशन गरेको ‘गोजी रित्तै’ मा राकेश श्रेष्ठ र हरि चन्द्र फुयालले कार्यकारी निर्माताको भुमिका निभाएका छन्। राधिका लामा, रिता श्रेष्ठ तामाङ, स्वस्तिका श्रेष्ठ, सुमन मगर, लिलाराज बानिया, कार्वासाङ्ग लामा र सोनी लामाले सह निर्माताको भुमिका निर्वाह गरेका छ्न्। रामेश्वर हुमागाँईले छायांकन गरेको उक्त चलचित्रलाई वन्दे प्रसाद (ललित साहु) ले सम्पादन गरेका हुन्।