हेटौंडा सिमेन्टबाट ४० लाखको तार चोरी

आलोचना होला भनेर गुपचुप राख्न खोजिएको कर्मचारीको भनाइ
भूगाेल संवाददाता
१ कार्तिक २०८१, बिहीबार १९:४५

हेटौंडा । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडबाट ४० लाख रुपैयाँ मूल्य बराबरको तामाको तार चोरी भएको छ । उद्योगका एक कर्मचारीका अनुसार सेक्युरिटी कम्पनीको लापरबाहीले उक्त मूल्य बराबरको तामाको तार चोरी भएको हो ।

‘कम्तीमा ४० लाख बढीको तामाको तार चोरी भएको छ, तर आलोचना होला भनेर गुपचुप राख्न खोजिएको छ,’ ती कर्मचारीले भने । हेटौंडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारीले तार चोरी भएको पुष्टि गरे ।

‘क्रसरबाट उद्योगसम्म क्रंकिट ल्याउन प्रयोग गरिने तामाको तार चोरी भएको छ । हामीले प्रहरीमा निवदेन पनि दिइसकेका छौं । कसरी चोरी भयो, सेक्युरिटी गार्डलाई समेत छानबिनको दायरामा ल्याउँदैछौं,’ भण्डारीले भने ।

भण्डारीका अनुसार सिमेन्टको सुरक्षाको जिम्मेवारी बज्र सेक्युरिटीले लिएको छ । सिमेन्ट उद्योगमा सीसीटीभी नहुँदा कसले चोरेको भन्ने अनुमान गर्न नसकिएको उनले बताए । मकवानपुर प्रहरीका अनुसार सिमेन्ट उद्योगमा चोरी भएको विषयमा आजै निवेदन आएकाले अनुसन्धान भइरहेको छ ।

‘हामीले अनुसन्धान सुरु गरिसकेको छौं, केहि भन्न सक्ने अवस्थामा छैन । अनुसन्धान नभई अहिले नै चोरीको बारेमा बोल्न सक्ने अवस्था छैन,’ मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले भने । साभार: अनलाइनखबर