हेटौंडा १३ मा टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता आजबाट

भूगाेल संवाददाता
१ कार्तिक २०८१, बिहीबार २३:४२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडामा अवस्थित आधामार टोल विकास संस्थाको आयोजनामा टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। विजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित उक्त प्रतियोगिता आज बिहिवार एक समारोह बीच उद्घाटन गरिएको हो।

प्रतियोगितालाई हेटौंडा १३ नम्बर वडा कार्यालय, रोजा कन्स्ट्रक्सन प्रालि र केहि समाजसेवी तथा सहयोगी दाताको आर्थिक सहयोग रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको ओपनिङ खेलमा आधामार टोविस टिम र मेन्दोलिङ टोविस टिम बिच प्रतिस्पर्धा भएको बताइएको छ। १७ टिम सहभागी रहेको सो प्रतियोगिताको फाइनल खेल कार्तिक १४ गते हुने आयोजक संस्थाका अध्यक्ष धिरेन लामाले जानकारी दिए।

प्रतियोगिता विजेता टिमले रु.५० हजार र द्वितीय टिमले रु.२५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष लामाले बताए ।

हेटौंडा १३ नम्बर वडाअध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यता रहेको टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता उद्घाटन समारोह कार्यक्रममा स्थानीय, वडाका जनप्रतिनिधि तथा राजनीतिज्ञ लगायतको उपस्थिति थियो। कार्यक्रम आधामार टोल विकास संस्था अध्यक्ष लामाको सभाध्यक्षतामा सम्पन्न भयो।