माओवादीले कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने, प्रचण्डले दिए सबै कमिटीलाई निर्देशन

भूगाेल संवाददाता
६ कार्तिक २०८१, मंगलवार ११:००

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने भएको छ। सरकारका गलत कमदको विरोध गर्न र गर्नुपर्ने काममा ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका हुन्।

उनले खबरदारीसभाको तयारीमा जुट्न पार्टीका सबै कमिटीलाई निर्देशन पनि दिएका छन्।

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ता खोजी, राहत वितरण, घाइतेको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागिएको माओवादी केन्द्रको भनाइ छ।

त्यस्तै सामाजिक न्यायका मुद्दामा सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिका पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत् प्राधिकरणलगायत सार्वजनिक संस्था, विश्वविद्यालयसहित शिक्षण संस्था र कर्मचारीतन्त्रमा गरिएको चरम राजनीतीकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रको दाबी छ।

माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्तपीडितका समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुईदलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिबिधिविरुद्ध खबरदारी थाल्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।