हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु, साइकल रेसमा ठाकुर प्रथम

भूगाेल संवाददाता
६ कार्तिक २०८१, मंगलवार १३:५४

मकवानपुर । हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह २०२४’ आजबाट सुरु भएको छ । आज पहिलो दिन विहान ७ बजे हेटौंडाको सिचाईं टोलदेखि मनकामना मन्दिरसम्म साइकल रेस प्रतियोगिता आयोजना गरिएको जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा राजिव ठाकुर प्रथम भएका छन् । त्यस्तै आशिष थापा दोस्रो र रवि कृष्ण नकर्मी तेस्रो भएका छन् । क्रमश विजेतालाई ९ हजार, दोस्रो हुनेलाई ६ हजार र तेस्रो हुनेलाई ३ हजार रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा १५ जना सहभागी थिए । जेसीज अध्यक्ष श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष राजेश मोहन प्रधानलगायत पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको संयोजन अशोक सिंले गरेका हुन् । सप्ताहव्यापी कार्यक्रमको दोस्रो कार्यक्रम अर्थात् वतृत्वकला प्रतियोगिता आजै दिउँसो ४ बजे जेसीजको सचिवालयमा हुनेछ । त्यस्तै कार्तिक ७ गते विहान ७ बजे हेटौंडा १५ चिप्लेटीस्थित सामुदायिक विद्यालयमा विहान शैक्षिक सामग्री वितरण कार्यक्रम, कार्तिक ८ गते विहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम र सोही दिन विहान ९ बजे सितलमहलचोकमा स्लो मोटरबाइकल प्रतियोगिता हुने जनाइएको छ ।

कार्तिक ८ गते नै दिउँसो ४ बजे हेटौंडा ९ मा लागूऔषध दूव्र्यशनीविरुद्धको सचेतना कार्यक्रम आयोजना गरिने र कार्तिक ९ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक विवेक आनन्द न्यौपानेले बताए ।