कार्तिक ९ गते हुने ‘लाईभ सेलो साँझ-२०८१’ को तयारी अन्तिम चरणमा

भूगाेल संवाददाता
६ कार्तिक २०८१, मंगलवार १७:०७

 हेटौंडा । मकवानपुर जिल्लाको हेटौंडामा हुन लागिएको ऐतिहासिक कार्यक्रम ‘लाईभ सेलो साँझ-२०८१’ को तयारी तिव्र रहेको आयोजकले जनाएको छ। ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिको आयोजनामा हुन लागिएको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको हो।

यस अघि असोज १९ गते हेटौंडाको पल्पसा सभाहलमा हुने भनिएको ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम मिति सारेर आगामी कार्तिक ९ गते हुनेगरी स्थगित भएको थियो। निरन्तर वर्षाका कारण देशव्यापी रुपमा आएको विपत्ति र भौतिक तथा मानवीय क्षतिले सिंगो देश नै शोकमा डुबेको बेला यस्तो मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु समय सान्दर्भिक नदेखिएको भन्दै आयोजकले कार्यक्रम स्थगित गरेका थिए।

कार्यक्रमको लागी जम्मा ६ सय टिकटमा करिब ४ सय टिकट बिक्री भइसकेको आयोजक संस्थाका प्रोप्राईटर विक्रम लुङ्बाले जानकारी दिए। उनका अनुसार कार्यक्रममा खाजाको व्यवस्था हुने गरि प्रवेश शुल्क वापत टिकटको १ हजार रुपैयाँ तय गरिएको छ। हेटौंडाको साईला सप्लायर्स तामाङ पसल र तिबेतियन लाफिङ हाउसमा टिकट उपलब्ध रहेको उनले बताए। यस्तै, सोही दिन कार्यक्रम स्थलमा पनि टिकट उपलब्ध हुने बताइएको छ।

उनले टुङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर,एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए।

कार्यक्रमा मकवानपुरे चर्चित सेलो गायक प्रकाश तितुङ र गायिका सुमिना लोको  प्रस्तुति रहने जनाइएको छ ।