करेन्ट लागेर महिलाको मृत्यु

भूगाेल संवाददाता
७ कार्तिक २०८१, बुधबार १२:२८

रौतहट। रौतहटको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । धनहारीस्थित महाबिरी झन्डा मेलामा कस्मेटिक पसल गरी बसेका माधवनारायण नगरपालिका ९ का विजय सहनीका श्रीमती २४ वर्षीय रिङकु देवी सहनीको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए । खेतमा राखेको आफनै ठेला ल्याउने क्रममा मेलामा जडान गरी ल्याएको विद्युतीय तारबाट करेन्ट लागी उनी घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा ल्याएलगत्तै बुधवार चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। शवको पोष्टमार्टम भै अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।