सहकारी ठगहरु कानुनको दायरामा ल्याइँदैछ, ५७५ जना जेलमै छन्ः प्रधानमन्त्री ओली

भूगाेल संवाददाता
७ कार्तिक २०८१, बुधबार १५:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम ठगी गर्नेहरुमाथि कानुनी कारबाही भइरहेको बताएका छन् । बुधबार सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गर्ने प्रतिबद्धता कार्यान्वयन सन्तोषजनक रहेको बताएका हुन् ।

‘आज यहाँ उभिएर म यो भन्ने ठाउँमा आइपुगेको छु, सर्वसाधारणले जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ, र ल्याउँदैछ’, प्रधानमन्त्रीले भने ।

सहकारी बचत ठगी गर्नेहरुको संख्या बढिरहेको पनि प्रधानमन्त्रीले बताए । ‘सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारबाही अगाडि बढेको छ, हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै छन्’, प्रधानमन्त्रीले भने । ठगहरुलाई कारबाहीसँगै पीडितहरुको बचत रकम फिर्ता गराउने प्रक्रिया पनि अगाडि बढेको बताए ।

‘सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्चा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अगाडि बढाइनेछ’, ओलीले भने ।