दिपावलीको अवसरमा बकैयामा जेके एफसी कप सुरु, जेके ए को विजयी सुरुवात

भूगाेल संवाददाता
८ कार्तिक २०८१, बिहीबार १७:१३

बकैया । दिपावलीको अवसर पारेर मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका– ९ च्याउच्याउमा जेके एफसी कप सुरु भएको छ । दिपावलीको अवसर पारेर बकैयाको जेके फुटवल क्लवको आयोजनामा विहिबारबाट सुरु भएको उद्घाटन खेलमा जेके एफसी ए ले कान्द्राङ एफसीलाई १०–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

क्लवका अध्यक्ष बीरबहादुर सिंतानको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो । बल हस्तान्तरण पछि उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि बानियाँले खेलको माध्यमबाट देशलाई चिनाउने कार्यको सुरुवात भैरहेको बताउनुभयो ।

क्रिकेट, फुटलवललगायत खेलको माध्यमबाट विस्तारै नेपालको नाम चर्चामा आउन लागेको बताउँदै नेता बानियाँले संघीय, प्रदेश र स्थानीय सरकारले पनि खेलमा लगानी बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्व गाउँपालिका अध्यक्ष दामोदर खनाल, बकैया ९ का वडा अध्यक्ष टंकध्वज लोप्चन, बकैया खेलकुद विकास समितिका संयोजक विजय थिङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कात्तिक १४ गतेसम्म संचालन हुुने प्रतियोगितामा २६ टिमले सहभागिता जनाएको क्लवका अध्यक्ष सिंतानले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमले क्रमशः नगद ३० हजार र १५ हजारसहित ट्रफी र प्रमाणपत्र वितरण गरिने आयोजकले जानकारी दिएको छ ।