साफ वुमन्स च्याम्पियन्सिपः नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

भूगाेल संवाददाता
९ कार्तिक २०८१, शुक्रबार १५:१५

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारत पाएको छ ।

दक्षिण एसियामा नेपालका लागि भारत नौलो प्रतिद्वन्दी होइन । विगतमा यी दुई टोली प्रायस् प्रतियोगिताहरुमा फाइनलमा पुगेर भेट हुन्थे । तर पछिल्लो समय सेमिफाइनलमै यी दुई टोली भिड्न थालेका छन् ।

अहिलेमसम्म साफ वुमन्स च्यम्पियनसिपको ६ संस्करण हुँदा नेपाल र भारत चार पटक फाइनल तथा दुई पटक सेमिफाइनलमा भिडेका छन् ।

पछिल्लो पटक सन् २०२२ मा नेपालमै भएको छैटौं संस्करणमा नेपाल र भारत सेमिफाइनलमा भेट भएको थियो जहाँ नेपाल १(० ले विजयी भएको थियो । त्यो नेपालले भारतलाई साफमा हराएको पहिलो पटक हो ।

साफको हरेक संस्करणमा नेपाल र भारत कुनै न कुनै रुपमा भेट भइरहेकै छन् । सातौं संस्करणको साफ चलिरहँदा नेपाल र भारत पनि सातौं पटक नै भेट हुन लागेको हो ।

सन् २०१० देखि २०१४ सम्म लगातार तीन संस्करणको फाइनल खेल्दा नेपाल भारतसँग पराजित भएको थियो । त्यसपछि २०१६ मा सेमिफाइनलमै भेट हादा पनि भारत विजयी भयो । यस्तै सन् २०१९ मा विराटनगरमा भएको पाँचौ साफमा फेरि फाइनलमा भेट हुँदा नेपाल भारतसँग पराजित भयो ।

नेपालमै आयोजना भएको साफमा नेपाल र भारत तेस्रो पटक भिड्नेछन् । यसअघि नेपालमा यी दुई टोली दुई पटक खेलेका थिए । जसमा दुवैले समान एक पटक खेल जितेका छन् । सन् २०१९ को फाइनलमा भारत विजयी हुँदा २०२२ को सेमिफाइनलमा भारतलाई हराएर नेपालले बदला लिएको थियो ।

पछिल्लो संस्करणको एक्सन रिप्ले

साफ वुमन्स च्याम्पियनसिप लगातार तेस्रो पटक नेपालमा आयोजना भइरहेको छ । यस पटक साफका खेलहरु विगतका भन्दा केही परक रहे ।

 

समूह विजेता र उपविजेता बन्ने होड अन्तिम सम्मै रह्यो र उपाधि दाबेदारहरु भारत नेपाल र बंगलादेश सेमिफाइनल पुगे । त्यसमा सेमिफाइनल पुग्ने अर्को टोली भुटान रह्यो । भुटानले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ । नेपाललाई पहिलो खेलमा गोलरहित बराबरीमा रोकेर पनि भुटानले त्यो प्रमाणित गर्‍यो ।

सेमिफाइनलमा नेपाल र भारत तथा बंगालदेश र भुटानबीच खेल हुनेछ ।

साविक विजेता बंगलादेश समूह ए को विजेता तथा सर्वाधिक पाँच पटकको विजेता समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । बंगलादेश यस समूहबाट अपराजित रह्यो । बंगालदेशसँग अन्तिम खेलमा ३–१ ले पराजित भएपछि भारत समूह उपविजेता बनेको हो ।

२०२२ मा पनि भारत समूहमा बंगालदेशसँग ३–० ले पराजित भएपछि समूह उपविजेता बनेको थियो । त्यो बेला नेपाल आफ्नो समूह विजेता थियो ।

यस्तै समूह बी मा नेपाल र भारत अपराजित रहँदै समान ७ अंक जोड्यो । गोलअन्तरमा नेपाल अघि रहँदै समूह विजेता बन्यो भने भुटान समूह उपविजेता ।

 

यस पटकको दुवै सेमिफाइनल खेल पछिल्लो संस्करणको पुनरावृत्ति जस्तो हुनेछ । २०२२ को साफ सेमिफाइनलमा नेपाल र भारत तथा बंगलादेश र भुटान भिडेका थिए । जसमा नेपाल र बंगलादेश विजयी हुँदै फाइनल पुगेका थिए । त्यस बेला दुई संयोग बनेको थियो । नेपाल र बंगलादेश दुवैले भारतलाई पहिलो पटक साफमा हराएको थियो । अनी फाइनलमा नेपाललाई हराउँदै बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो ।

भारतसँग जित्ने लक्ष्य

साफ र सागमा भारत नेपालका लागि जहिल्यै ठूलो चुनौतीको रुपमा रहँदै आएको छ । २०२२ को साफ सेमिफाइनल बाहेक यी दुई प्रतियोगितामा नेपालमाथि भारत नै हावी बनेको छ ।

साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

तर पछिल्लो पटक भारतलाई हराएको नेपालले यस पटक पनि सेमिफाइनलमा भारतलाई हराउने लक्ष्य राखेको छ । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अब जसरी पनि भारतलाई हराउनेमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

‘यो हाम्रो लागि महत्वपूर्ण खेल हो । हाम्रो सबै शक्ति लगाएर खेल्नुपर्छ’, बिहीबार समूहको अन्तिम खेलमा श्रीलंकालाई हराएर भारतसँग भेट पक्का गरेपछि तामाङले भने ।

अब बाँकी दुई दिनमा भारत विरुद्धको खेलका लागि रणनीति बनाउने र जित्ने लक्ष्य रहेको उनले बताए । ‘हामीले भारतसँग खेल्ने पक्का भइसक्यो । अब उनीहरुको अगाडिको खेल हेरेर त्यसमा काम गर्नेछौँ । दुई दिन बाँकी छ मैदानमा धेरै काम गर्न भ्याउँदैन । सेमिफाइनल जसरी पनि जित्नुपर्छ भन्ने लक्ष्य लिएर आउँछौँ ।’

उता भारतले यस पटक समूहमा जम्मा दुई खेल मात्र खेलेको छ । समूह ए को अन्तिम खेलमा बंगलादेशसँग भारत पराजित भएको थियो । तर भारतका मुख्य प्रशिक्षक सन्तोष कश्यपले भने आफूले खेलमा एक्सपेरिमेन्ट गरेकोले खासै चिन्तित नभएको बताएका थिए ।

उनलाई नेपालसँग सम्भावित सेमिफाइनल भिडन्तबारे सोध्दा उनले घरेलु टोलीसँग खेल्न चुनौती हुने र तर फाइनल पुग्ने विश्वास रहेको बताएका थिए । ‘म कन्फिडेन्ट छु,’ कश्यपले भनेका थिए,’ म पहिला पाँच पटक हामीले जितेको कुरा गर्दिनँ । खेलाडीले धेरै सुधार गरेका छन् । सेमिफाइनलमा हामी नेपालसँग खेल्दा घरेलु टोली हाम्रो लागि अर्को चुनौती हुनेछ । दर्शक पनि धेरै हुन्छ । तर हामी विश्वस्त छौँ कि हामी फाइनल पुग्नै उपाधि जित्न प्रयास गर्नेछौँ ।’

नेपालको लागि पनि सेमिफाइनलमा वास्तविक परीक्षा हुनेछ । पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपालले त्यसपछि कमजोर टिम माल्दिभ्सलाई ११–० र श्रीलंकालाई ६–० ले हराएको थियो ।

नेपालले अहिलसम्म तीनवटै खेलमा क्लिनसिट राखेको छ र प्रशिक्षक तामाङले अहिलेसम्म नेपालका तीनवटै गोलकिपरलाई अवसर दिएका छन् । पहिलो र तेस्रो खेलमा कप्तान एन्जिला तुमबाप्पो सुब्बाले पहिलो रोजाइमा खेलेका थिए भने दोस्रो खेलमा अन्जना राना मगरले सुरुआत गरेकी थिइन् । दोस्रो खेलमा उषा नाथले पनि वैकल्पिक खेलाडीको रुपमा खेलेकी थिइन् ।

तर खेलाडीको चोटले गर्दा नेपाललाई सताएको छ । घाइते खेलाडीहरुको सूची थपिँदा नेपाललाई चुनौती बन्न सक्छ । हिराकुमारी भुजेल र दीपा शाही भुटान विरुद्ध पहिलो खेलमै घाइते भए । घुँडाको चोटका कारण उनीहरुले साफबाट बाहिरिसकका छन् । दुवैको घुँडाको सफल शल्यक्रिया समेत भइसकेको छ । यस्तै पहिलो खेलमा घाइते भएकी पूजा रानाले त्यसपछि खेलेकी छैनन् । टिममा रहेकी समीक्षा घिमिरेले पनि खेलेकी छैनन् ।

श्रीलंका विरुद्ध प्रीति राई घुँडाको केही दुखाइ भएपछि रिप्लेस भइन् । घाइते खेलाडीहरुको सुची बढ्दै जानु पक्कै चिन्ताको विषय बनेको छ । डिफेन्समा हिरा बाहेक अन्य दुई खेलाडी पनि पूर्ण फिट नहुँदा प्रशिक्षकले दुई खेलमा ३ जना डिफेन्स मात्र खेलाएका थिए ।

श्रीलंका विरुद्ध प्रीति राईले सामान्य दुखाई पनि आफैँ विश्राम गर्न चाहेको र सेमिफाइनलका लागि तयार हुन्छ भनेको प्रशिक्षक तामाङले बताए । पूजा र समीक्षाको हकमा भने उनीहरु अझै पूर्ण फिट नभएको तामाङले स्वीकारे । उनले भने, ‘समीक्षाको घुँडामा समस्या छ । ट्रेनिङमा पनि राम्रो गर्न सकेको छैन । त्यसैले प्रयोग गर्न सकेको छैन । पूजालाई पहिलो खेलपछि घुँडामा समस्या देखिएको थियो । आजको खेल प्रयोग गर्ने योजना थियो तर खेलको अवस्थाले सकिनँ ।’

तामाङले टिमबाट बाहिरिसकेको हिरा र दीपाको स्थानमा अन्य खेलाडी रिप्लेस गर्ने सम्भावना कम रहेको बताए । यदि रिप्लेस गर्ने अवसर पाए पनि अहिले त्यो स्तरको खेलाडी नपाइने उनले बताए ।