जिल्ला बचत संघको साधारणसभाः विभिन्न विधामा सहकारी संस्था सम्मानित

भूगाेल संवाददाता
१० कार्तिक २०८१, शनिबार २०:०६

हेटौंडा । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको १९ औैं वार्षिक साधारण सभा शनिबार हेटौंडामा भएको छ । संघका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता तथा बागमी प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारीले विभिन्न विधामा सहकारी संस्थाहरुलाई सम्मान गरेको छ । संघले सर्वोत्कृष्ट महिला साकोस तर्फ हेटौंडा १५ को महिला जनशक्ति साकोस र मिश्रिततर्फ थाहा ६ बज्रबाराही साकोस भई सम्मान गरिएको थियो । त्यस्तै, महिलातर्फ पार्वती राना र पूरुषतर्फ नारायणप्रसाद देवकोटालाई सहकारी अभियानकर्मी घोषित गरि सम्मान गरिएको थियो ।

संघले उत्कृष्ट सहकारी कर्मचारीमा महिलातर्फ जागरण साकोसका व्यवस्थापक मेनुका दाहाल र पूरुषतर्फ कुन्छाल साकोस थाहा ६ का व्यवस्थापक मनराज गोपालीलाई नगद सहित सम्मान गरिएको थियो । साकोस एकीकरण सम्मानतर्फ भने थाहानगरका ब्रजबाहारी साकोस र उत्पीडित उत्थान साकोसबीच एकीकरण भएकाले सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट दैनिक कारोबार गर्नेतर्फ थाहा ७ को कुटेश्वरी महिला साकोसलाई सम्मान गरिएको थियो ।

संघले सभामा कुल सम्पति २० करोड माथी रहेको सहकारीहरु मध्येबाट सर्वाधिक बचत जम्मा गर्ने हेटौंडा १५ को महिला मिलन साकोस, सर्वाधिक ऋण परिचालन गर्ने हेटौंडा १२ को महिला सेवा साकोस, सर्वाधिक शेयर खरिद गर्ने हेटौंडा ४ को श्रमिक सुरक्षित साकोसलाई सम्मान गरिएको थियो । त्यस्तै, ७ करोड देखी २० करोड सम्म कुल सम्पति रहेको सहकारी मध्ये सर्वाधिक बचत जम्मा गर्ने मकवानपुरगढी ५ को महिला कल्याण साकोस, सर्वाधिक ऋण परिचालन गर्ने हेटौंडा २ को पञ्चरत्न साकोस र सर्वाधिक शेयर खरिद गर्ने हेटौंडा २ को गणपति साकोसलाई सम्मान गरिएको थियो ।

सभामा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका सदस्य बद्रीप्रसाद लम्साल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाई, हेटौंडा उपमहानगरपालिका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, सल्लाहकार राधा सिन्तानर उत्तम शर्मा ढकाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर जिल्ला कृषि सहकारी संघका रेखा खतिवडा, नेफ्स्कुन फिल्ड ईन्चार्ज ज्योति महत, राष्ट्रिय सहकारी बैंक हेटौंडामा समीर श्रेष्ठ, संघका लेखा समिति संयोजक मिठाराम दाहाललगायतको आतिथ्या रहेको थियो ।

संघले चालु आवमा एक अर्ब ५८ करोडको अनुमानित कारोबार गर्ने लक्ष्य राखेको छ ।