हेटौँडामा ऐतिहासिक कार्यक्रम ‘लाइभ सेलो साँझ-२०८१’ कार्यक्रम सम्पन्न

भूगाेल संवाददाता
१० कार्तिक २०८१, शनिबार २०:५१

हेटौँडा। हेटौँडामा आयोजित ऐतिहासिक कार्यक्रम ‘लाइभ सेलो साँझ-२०८१’ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । हेटौँडाको पल्पसा सभाहलमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् भने कार्यक्रमको अध्यक्षता आयोजक संस्था ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रालिका प्रबन्धक बिक्रम लुङ्बाले गरेका थिए।

“एक तामाङ घर, एक डम्फू” भन्ने नाराका साथ आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य टुङ्ना र डम्फू प्रशिक्षण सहयोगका साथै तामाङ समुदायको मौलिक कला, संस्कृति, गीत-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन रहेको आयोजक लुङ्बाले बताए। कार्यक्रममा मकवानपुरका चर्चित सेलो गायक प्रकाश तितुङ र गायिका सुमिना लो लगायतका कलाकारहरूको प्रस्तुतिले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रममा अनुमानित संख्याभन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजकले जानकारी दिए। “हामीले ४ सय सहभागीको अनुमान गरेका थियौं तर झण्डै ६ सय जनाको उपस्थिति रह्यो,” लुङ्बाले भने। उनका अनुसार गेट बिक्रीबाट पनि उल्लेख्य संख्यामा दर्शकले टिकट खरिद गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले यस्ता कार्यक्रमले संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। “हेटौँडा उपमहानगरपालिका तामाङ बहुल क्षेत्र भएकाले तामाङ होस्टे सुरु गर्ने योजना छ, जहाँ हप्ताको एक पटक सेलो प्रस्तुति गर्ने योजना रहेको छ,” उनले भनिन्। उनले भावी पुस्तामा नेपाली भाषाको प्रयोग घट्दै गएको चिन्ता व्यक्त गर्दै प्रत्येक समुदायले आ-आफ्नो संस्कृति जोगाउन अग्रसर हुनुपर्ने बताइन्।

कार्यक्रमको पहिलो संस्करण निकै उत्साहजनक रहेको र प्राप्त माया र हौसलाले आगामी सिजनहरू पनि ल्याउन प्रेरणा मिलेको आयोजक लुङ्बाले बताए।