हेटौंडामा दसैंमा बढेको खाद्यान्नको मूल्य तिहारमा पनि उस्तै

भूगाेल संवाददाता
११ कार्तिक २०८१, आईतवार १०:५८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका तराइका जिल्ला र भारतको रक्सोल पनि नजिकै छ । धेरैजसो खाद्यान्न भारतका जिल्लाबाट आउने गरेका छन् । काठमाण्डौंको तुलनामा हेटौंडामा ढुवानी भाडा पनि कम लाग्छ । तर, खाद्यान्नको मुल्यबृद्धी भने उस्तै छ ।

दसैं अगाडिदेखि बढ्न थालेको बजारभाउ तिहार नजिकिँदै गर्दा घट्ला कि भन्ने आशा उपभोक्तामा थियो । तर त्यसको उल्टो परिणाम आइदियो— खाद्यान्नको मूल्य एकपछि अर्को गर्दै उकालो लागिरह्यो । गोलभेंडाको मूल्य कहिले काकँही घटेपनि अहिले दिनहुँजसो बढ्यो । खाने तेलको मूल्य पनि १५ दिन पुग्दानपुग्दै अकासियो ।

खाद्यान्न र गोलभेंडा मात्र होइन, अन्य खाद्यवस्तुको मूल्य पनि उस्तै छ । हेटौंडाको मेनरोड, कान्तिराजपथ, स्कुलरोड, पारिजातपथ लगायतका साना किराना पसल वा थोक पसलमा खाद्यान्नको मुल्य निकै बढेको हेटौंडा–२ का स्याम शर्मा बताउँछन् ।

तरकारी, फलफूल खाद्यान्नको मूल्य बढेकै छ । मूल्यवृद्धिको खास कारण नभए पनि केही व्यवसायीले भारतबाट खरिद गरेर यहाँको बजारमा भएको मूल्यवृद्धिलाई बहाना बनाएका छन् । केहीले चालु आर्थिक वर्षको अग्रिम कर र बाढीपहिरोको बहाना बनाएर मूल्य बढाएका छन् । अग्रिम आयकर लागू भएको खाद्यवस्तुको मूल्य कम्तीमा १० प्रतिशतसम्म बढ्छ ।

कर नलागेका वस्तुमा पनि अस्वाभाविक मूल्य बढेको उपभोक्ताहरु बताउँछन् । बजारभाउ उकालो लाग्दै गर्दा नियामक निकाय भने उद्योगी व्यवसायीकै पक्षमा देखिएको छ । हेटौंडा बजारको अवस्था भद्रगोल छ । बिहान–बेलुका उपभोग हुने खाने तेल, गोलभेंडा, तरकारी, आलुलगायत खाद्यवस्तुको अवस्था छोइनसक्नु छ ।
बजार अनुगमन गर्ने निकाय पनि पर्याप्त छन् । तीनै तहका सरकारको बजार अनुगमन गर्ने र नियमन गर्ने अधिकार छ । तर, कार्यान्वयन गर्न भने उदासिन देखिएका छन् ।

व्यवसायीहरूले विपद्को मौकामा समेत तरकारी र फलफूलमा मनोमानी मूल्य असुलेका छन् । बाढीपहिरोले राजमार्ग बन्द भई आयात नभएको बहाना बनाउँदै उनीहरूले पुरानै सामानमा चर्को मूल्य लिएका हुन् । अहिले बाटो सहज भइसकेको छ । आपूर्तिमा समस्या छैन । तर हेटौंडामा तरकारी बजार र बाहिरी बजार मूल्य हेर्दा तरकारीको भाउ घटेको छैन । गोलभेंडाको भाउ त झन् दिनहुँ बढ्दो क्रममा छ, छोइनसक्नुभएको यहाँका उपभोक्ताहरु बताउँछन् ।